काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साढे ३ घण्टा ढिलागरि सुरू भएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा दिउँसो १ बजेका लागि बोलाइएको बैठक केहीबेरअघि मात्र सुरू भएको हो।
आसन्न महाधिवेशनको तयारी तथा अन्य विविध राजनीतिक अवस्थाबारे छलफल गर्ने अजेन्डा तय गरिएको छ। यसअघि पार्टी कार्यालय सानेपामा बस्ने तय भएको बैठक त्यहाँ नेता/कार्यकार्ताको धर्नाका कारण बूढानीलकण्ठमा बसेको हो।
शनिबार बूढानीलकण्ठमै बसेको पदाधिकारीको बैठकले महाधिवेशन तयारीका लागि विभिन्न अजेन्डा तयार पारेको थियो। आजको बैठकमा ती अजेन्डा छलफल गर्ने तयारी कांग्रेसको छ।
साथै, आजको बैठकले निर्वाचन समितिको कार्यतालिकासमेत पारित गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। महाधिवेशन सम्पन्न गर्नका लागि विधानमा भएका केही व्यवस्थालाई निलम्बन गरिएको र त्यसको निर्णय गराउने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गरिने उनले बताए।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका आज केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी छ।
यसैगरी, विदेशस्थित जनसम्पर्क समितिले पठाएका क्रियाशील सदस्यको नाम अनुमोदन केन्द्रीय समितिले गर्ने भएको छ। प्राप्त हुन नसकेका देशका जनसम्पर्क समितिलाई निश्चित अवधि उपलब्ध गराउने जनाएको छ।
यस्तै, मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने अजेन्डा पनि केन्द्रीय समितिमा पेश गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।