काठमाडौं- माघ १९ मा प्रदर्शन तोकिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’का निर्देशक सुदर्शन थापाको अर्को फिल्म ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा प्रदर्शन हुने भएको छ।
निर्देशक थापाले आफ्नो सामाजिक सञ्जालमार्फत् फिल्म फागुनमा प्रदर्शन गरिने जानकारी दिएका हुन्।
केही दिनअघि मात्रै आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति घोषणा गरेका थापाले ‘चलचित्र क्षेत्रलाई चलायमान गराउने उद्देश्यले आफ्नो फिल्म प्रदर्शन गरिने’ बताएका थिए। उक्त फिल्मको प्रदर्शनको करिब डेढ महिनापछि आफ्नो अर्को फिल्म पनि प्रदर्शन गर्ने उनले बताएका हुन्।
थापाको निर्देशकमा बनेको फिल्म ‘सम्हालिन्छ कहिले मन’मा अभिनेता आकाश श्रेष्ठ, सोनम तोपडेन र अभिनेत्री पूजा शर्मालगायतको अभिनय छ। अमित बस्नेतको लगानीमा बनेको फिल्मलाई परी राना र अजितकुमार थापालगायतले संयुक्त रुपमा सहनिर्माण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।