काठमाडौं– एएफसी एसिया कप २०१९ छनोट अन्तर्गत ताजकिस्तानविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। नेपालका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले बुधबार २३ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेका हुन्। टिममा २ जना बाहेक अन्य खेलाडीले अघिल्लो महिना ताजकिस्तासँग होम म्याच खेलेका छन्।
गोलकिपर विशाल श्रेष्ठको स्थानमा युवा गोलकिपर एलन न्यौपानेले स्थान पाएका छन्। एन्फा एकेडेमीका उत्पादन न्यौपाने हाल थ्री स्टार क्लबबाट व्यवासायिक फुटबल खेलिरहेका छन्। उनी नेपाली यू–२३ टिमका पहिलो रोजाइका गोलकिपर हुन्। तीन महिनाअघि यूएइमा भएको एएफसी यू–२३ छनोटमा एलनले नेपाली पोस्टको कामन्ड सम्हालेका थिए।
यस्तै, राजेन्द्र रावल पनि राष्ट्रिय टिममा फर्किएका छन्। सुमन लामाको स्थानमा रावललाई ल्याइएको हो। सशस्त्र प्रहरी बलका रावल केही वर्षयता राष्ट्रिय टिममा परे पनि पहिलो रोजाइमा पर्न संघर्षरत छन्।
समूह 'एफ' को खेलमा नेपालले ताजकिस्तानसँग २४ असोजमा प्रतिस्पर्धा गर्दैछ। खेल ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा हुनेछ। ताजकिस्तानविरुद्धको खेलका लागि नेपालले मंगलबारदेखि पुन: प्रशिक्षण थालेको थियो।
प्रशिक्षणका लागि गोलकिपर किरणकुमार लिम्बु तथा रोहित चन्द पनि नेपाल फर्किएका छन्। किरण माल्दिभ्स तथा रोहित इन्डोनेसियाबाट ब्यवसायिक खेल खेलिरहेका छन्।
यस्तो छ नेपाली टिम
गोलकिपर – किरण कुमार लिम्बु, विकेश कुथु, एलन न्यौपाने
डिफेन्डर – कमल श्रेष्ठ, आदित्य चौधरी, अनन्त तामाङ, देबेन्द्र तामाङ, विराज महर्जन, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी
मिडफिल्डर – सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, अन्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापामगर, सुजल श्रेष्ठ
फरवार्ड – विमल घर्तीमगर, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास
एसिया कपमा छनोट हुन नेपालका लागि ताजाकिस्तानसँगको खेल महत्वपूर्ण छ। ताजकिस्तानलाई हराउन सके मात्र नेपालको एसिया कपमा छनोट हुने आसा जीवितै हुनेछ।
समूह 'एफ' को पहिलो चरणका तीन खेल सकिँदा नेपाल जितबिहीन छ। नेपाल फिलिपिन्सविरुद्धको पहिलो अवे खेलमा ४–१ ले पराजित भएको थियो। नेपालले हेम खेलमा यमनसँग १–१ को बराबरी खेलेको थियो। एक महिनाअघि एन्फा कम्प्लेक्समा भएको तेस्रो खेलमा नेपाललाई ताजकिस्तानले २–१ ले हराएको थियो।
यो पनि पढ्नुहोस् – किन हार्यो नेपाल ताजकिस्तानसँग? (विश्लेषण)
पहिलो चरणका खेल सकिँदा तीन खेलबाट १ अंक जोडेको नेपाल समूह 'एफ' को अंक तालिकाको पुछारमा छ। शीर्ष स्थानको फिलिपिन्सले ७, दोस्रो स्थानको यमनले ५ तथा तेस्रो स्थानको ताजकिस्तानले ३ अंक जोडेका छन्।
समूहका शीर्ष २ टिम यूएइमा हुने एएफसी एसिया कप २०१९ मा छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।