काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई आउँदो आमनिर्वाचनसम्मका लागि पार्टी सभापति बनाउन प्रस्ताव गरेका छन्।
शुक्रबार आफूपक्षीय केन्द्रीय सदस्यहरूसँगको छलफलमा उनले आमनिर्वाचनसम्मका लागि सभापति बनाउन प्रस्ताव गरेका हुन्। उनले आमनिर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएर नेतृत्व हस्तान्तरण गर्ने बताए। पौडेलले आउँदो मंसिरमा हुने १४औं महाधिवेशनमा सभापतिमा उम्मेद्वारी दिने तयारी गरेका छन्। यद्यपि, पौडेल समूहबाट अरु नेता पनि आकांक्षी छन्।
'मलाई सभापतिमा सघाउनुस्। आमनिर्वाचनमा पार्टीलाई ठूलो पार्टी बनाएर नेतृत्व हस्तान्तरण गर्छु', पौडेलको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने।
बैठकमा महामन्त्री शशांक कोइरालाले आफू नै सभापतिको उम्मेदवार हुनुपर्ने दाबी नगरेको पनि बताए।
‘रामचन्द्र पौडेलले म नै हुनुपर्छ भन्नुभएको छैन,’ बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले भने, ‘म पनि मिलाउने पक्षमा नै छु।’
आफ्नो समूहका चार जना आकांक्षीलाई मिलाउने जिम्मा वरिष्ठ नेता पौडेललाई दिइएको समेत उनले बताए। 'हाम्रो पक्षका चार जना मिलाउने जिम्मा रामचन्द्र पौडेललाई दियौं। केन्द्रीय समिति बैठकलगत्तै चार जनाको बैठक बोलाउनुस् भन्यौँ। हामी चारमध्ये एकमात्रै सभापतिको उम्मेदवार बन्न नसके शेरबहादुरजीलाई बुझाइदिए हुन्छ,' महामन्त्री कोइरालाले भने।
अर्का नेता प्रकाशमान सिंह भने आजको बैठकमा सहभागी थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।