सांकेतिक तस्बिर
काठामाडौं–कुलेश्वरस्थित एक क्याम्पसका शिक्षक (प्राध्यापक) मानव बेचबिखनको आरोपमा पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले जनमैत्री क्याम्पसका प्राध्यापक नेत्र ज्ञवालीलाई पक्राउ गरेको हो।
ज्ञवालीलाइ पक्राउ गरेको एक साता बित्दा पनि ब्यूरोले घटनालाई गुपचुप राखेको छ। ब्यूरो स्रोतका अनुसार ज्ञवालीले एक नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोप लागेको छ।
काठमाडौं उपत्यकामा होटल सञ्चालन गर्दै आएकी एक महिलासँग मिलेर ती बालिकालाई यौन धन्दामा लगाएको पाइएपछि ज्ञवालीलाई पक्राउ गरिएको ब्यूरो स्रोतले जानकारी दियो।
उक्त घटनामा संलग्न रहेकी भनिएकी होटल सञ्चालिका महिला भने फरार छन्। ज्ञवाली पक्राउको जानकारी पाएसँगै ती महिला फरार भएको र उनको खोजी भइरहेको ब्यूरो स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
१६ वर्षभन्दा कम उमेरकी ती बालिकालाई माइती नेपालल उद्दार गरेर राखेको छ। बालिकाको उद्दार भएपछि उनका आफन्तमार्फत् जाहेरी आएपछि शिक्षक ज्ञवालीलाई पक्राउ गरिएको हो।
आमा बितेपछि बेसहारा बनेकी ती बालिका उपत्यकाकै एक होटलमा काम गर्न पुगेकी थिइन्। त्यही होटलमा नियमित ग्राहक बनेका ज्ञवाली र होटल सञ्चालिका महिला मिलेर उनलाई यौनधन्दामा लगाउने गरेको ब्यूरो स्रोतको दाबी छ।
पक्राउ परेका ज्ञवालीलाई मानव बेचबिखनको कसूरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको ब्यूरो स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।