काठमाडौं– बृहत् वामपन्थी समीकरणमा नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति मिसिएपछि मधेस केन्द्रित दलले पनि एकता प्रक्रिया अगाडि बढाएका छन्। तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश–२ मा दोस्रो भएको संघीय समाजवादी फोरम र तेस्रो भएको राजपा (राष्ट्रिय जनता पार्टी) बीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तालमेल तथा दीर्घकालीन एकताका लागि पहल भएको हो।
एमाले–माओवादी गठबन्धनले मधेस केन्द्रित दललाई आफ्नो समीकरणमा समेट्न राजपा फोड्ने प्रयास गरिरहेका बेला दुई मधेस केन्द्रित दल एकता प्रयासमा लागेका हुन्।
‘राजपा फोड्ने प्रयास कसैले नगरे हुन्छ, हामी एक छौं। हामी अझ बृहत्तर गठबन्धनको प्रयासमा छौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि सबै मधेस केन्द्रित दल एक ठाउँमा उभिनेछौं,’ राजपा अध्यक्ष मण्डलका एक नेता राजेन्द्र महतोले भने।
राजपा अध्यक्ष मण्डलकै अर्का नेता शरतसिंह भण्डारीका अनुसार फोरमसँग निर्वाचनअघिको तालमेत र दीर्घकालीन रुपमा पार्टी एकताबारे छलफल चलिरहेको छ। ‘साँच्चैभन्दा वामपन्थी एकताले हामीलाई झस्काएको पनि छ र केही सम्झाएको पनि छ। अब मधेसका मुद्दामा लडिरहेका दलहरु किन नमिल्ने? मुद्दा समान छन्, फरक–फरक रुपमा किन जाने? हामी छिट्टै मिल्नेछौं, कम्तिमा चुनाव अघिसम्ममा सहकार्यको समझदारी गर्नेछौं,’ उनले भने।
संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवका अनुसार स्थानीय तहकै चुनावताका सहकार्य गर्ने सम्बन्धमा अन्य मधेसवादी दलसँग कुरा भएको थियो। ‘राजपा लगायतका केही दलले चुनावमा सहभागी नहुने निर्णय गरे। त्यसकारण सहकार्य हुन सकेन। हामी संख्याभन्दा पनि मुद्दा केन्द्रित छौं। फेरि पनि मधेसवादी दलहरु मिलेर जानुको विकल्प छैन,’ यादवले भने, ‘छिट्टै ठोस नतिजा आउनेछ।’
जति प्रयास र दबाव आए पनि एमाले–माओवादी समीकरणमा नजोडिने मधेस केन्द्रित दलको अडान छ। ‘कांग्रेसबाट पनि सहकार्यको प्रस्ताव आएको छ, तर हामी मधेसवादी दल मिल्यौं भने काफी हुन्छ। उनीहरुभन्दा हामी नै हाबी हुनेछौं,’ राजपा अध्यक्ष मण्डलका एक नेता महेन्द्र राय यादवले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।