काठमाडौं- ५ डिसेम्बरबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘सूर्यवंशी’ले एक सय करोडको व्यापार पूरा गरेको छ। प्रदर्शनमा आएको चौथो दिनमा फिल्मले १ सय २ करोड भारुभन्दा माथिको व्यापार गरेको हो।
अक्षय कुमार मुख्य भूमिकामा रहेको फिल्मले प्रदर्शनको पहिलो दिनमा २६.२९ करोड भारुको व्यापार गरेको थियो।
पहिलो दिनमा नै २६ करोड भारुको व्यापार गर्दै रोहित शेट्टी निर्देशित ‘सूर्यवंशी’ कोरोना कालपछि सबैभन्दा धेरै आम्दानी गर्ने फिल्म बनेको थियो।
मंगलबारसम्मको प्रदर्शनमा फिल्मको कूल आम्दानी १ सय २ करोड ८१ लाख भारु पुगेको छ।
भारतभर ३५ सय स्क्रिनसँगै अन्य विभिन्न देशमा प्रदर्शन गरिएको फिल्मले दोस्रो दिन २३ करोड ८५ लाख, तेस्रो दिन २६ करोड ९४ लाख, र चौथो दिन १४ करोड ५१ लाख भारुको आम्दानी गरेको छ।
यो आम्दानी भारतभर भएको प्रदर्शनको मात्रै हो। भारतबाहेकका अन्य देशमा पनि ‘सूर्यवंशी’को व्यापार निकै सफल देखिएको छ। नेपालमा पनि फिल्मले मंगलबारसम्म २ करोडभन्दा धेरैको व्यापार गरेको बताइएको छ।
‘सूर्यवंशी’ निर्देशक शेट्टीको ‘कप युनिवर्स’को चौथो फिल्म हो। फिल्ममा अक्षयसँगै कट्रिना कैफ, गुलशन ग्रोवर, अभिमन्यु सिंह, निकेतन धीर, सिकन्दर खेर, ज्याकी श्राफलगायतको अभिनय छ।
फिल्ममा शेट्टीको ‘कप युनिभर्स’का अघिल्ला फिल्म ‘सिंघम’का अभिनेता अजय देवगन र ‘सिम्बा’का अभिनेता रणवीर सिंह केमियो भूमिकामा देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।