काठमाडौं- हास्यकलाकार जितु नेपालले सञ्चालन गरिरहेको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ।
नेपालकाअनुसार कार्यक्रममा आवद्ध उमेश राई (फुलन्देकी आमा)लाई प्रस्तोता बनाइएर ‘मुन्द्रेको कमेडी क्लब’लाई नै निर्माण गरिरहेको कम्पनी ‘कि एडभर्टाइजिङ’ले नयाँ कार्यक्रमको घोषणा गरेपछि कार्यक्रम बन्द गर्न लागिएको हो।
नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम १३२ भागसम्म पुगेको थियो। हास्यव्यंग्यसहित विभिन्न अतिथि बोलाएर कुराकानी हुने उक्त कार्यक्रमलाई अचानक बन्द गर्नुपर्दा आफूलाई दुःख लागेको नेपालले बताए।
नेपालले भने, ‘उमेशले अर्को कार्यक्रम चलाउँछ, तपाईंले मिलाउनुस् भनेपछि मलाई चित्त दुख्यो। टिममा नै खटपट भएपछि मैले कार्यक्रमबाट ब्रेक लिने सोचेको हुँ।’
सुरुवातमा भारतीय टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट्स विथ कपिल शर्मा’को नक्कल गरेको भन्दै नकरात्मक प्रतिक्रिया पाएको उक्त कार्यक्रमले पछि भने दर्शकको मन जित्न सफल भएको थियो।
दुई सिजनमा प्रसारण भएको मुन्द्रेको कमेडी क्लब पहिलो सिजनमा ७६ भाग र दोस्रो सिजनमा ५६ भागसम्म प्रसारण भएको थियो। पहिलो भागमा कार्यक्रममा दिपाश्री निरौलाले अध्यक्षको भूमिका निभाएकी थिइन् भने दोस्रो भागमा नायिका करिश्मा मानन्धरले उनको स्थान लिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।