भोला सिलवाल, ३०, नेपाल पुलिस क्लबका मिडफिल्डर हुन् । सिलवाल पुलिसबाट खेल्न थालेको १२ वर्ष पुगिसकेको छ । पुलिसले घरेलु लिगमा दबदबा बनाउँदा सिलवाल प्रभावशाली खेलाडी थिए । सिलवाल लगायतका खेलाडीको स्वर्णिम पुस्ताकै बलमा पुलिसले २०६३ पछि लगातार तीन पटक सहिद स्मारक‘ए’ डिभिजन लिग जितेर घरेलु फुटबलमा एक छत्र राज गरेको थियो । पुलिस क्लबमा गरेको उत्कृष्ट प्रदर्शनकै आधारमा सिलवालले सन् २००८ मा राष्ट्रिय टोलीमा डेब्युको मौका पाए ।सिलवालले राष्ट्रिय टोलीका लागि अहिलेसम्म ३७ क्याप जितिसकेका छन् भने २ अन्तर्राष्ट्रिय गोल गरेका छन् । सिलवालले पछिल्लो पटक सन् २०१२ मा बंगलादेशविरुद्ध गोल गरेका थिए ।
सन् २०१५ पछि सिलवाल राष्ट्रिय टोलीमा पर्न सकेका छैनन् । उनी राष्ट्रिय टोलीमा पर्न नसक्नुको एक मात्र कारण हो,चोट । सन् २०१५ मा भारतविरुद्ध मैत्रीपूर्ण खेलका लागि सिलवाल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा थिए । प्रशिक्षणका क्रममा सिलवालको घुँडामा हल्का चोट लाग्यो । हल्का चोटलाई सिलवालले हलुकै रुपमा लिए, क्लब स्तरीय प्रतियोगितामा मैदान उत्रिए । दुर्भाग्य भनौं, हल्का चोट बल्झियो, सिलवाल झन्डै एक वर्ष मैदान बाहिर रहन वाध्य भए । अहिले क्लब स्तरीय प्रतियोगितामा फर्किएका सिलवाल राष्ट्रिय टिममा स्थान बनाउन मिहिनेत गरिरहेका छन् ।आफूलाई लागेको चोट र खेलमा फर्कन गरेको प्रयासबारे सिलवालले नेपाल लाइभलाई बताएका छन् :-
भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा परेको थिएँ । प्रशिक्षणका क्रममा घुँडामा सामान्य चोट लाग्यो । चोट लागेपछि राष्ट्रिय टोलीबाट बाहिरिएँ, तर क्लब स्तरीय प्रतियोतिगामा भने भाग लिएँ । घाइते अवस्थामै पोखरामा भएको आहा गोल्डकपअन्तर्गत सशस्त्र प्ररहीविरुद्ध मैदान उत्रिएको थिएँ।त्यही खेलमा घुँडाको चोट बल्झिँदा खेल बीचैमा त्यागेर निस्किनुपर्यो । चोटका कारण दुई महिना त राम्रोसँग हिँड्न पनि सकिनँ ।
प्रहरी अस्पतालका डा सुमनराजा श्रेष्ठ र अर्जुन लामिछानेलाई देखाएँ । उहाँहरुले दुई महिना पूर्ण आराम गर्ने सल्लाह दिनुभयो ।एमआरआई गर्दा थाहा भयो, घुँडाको मांसपेशी च्यातिएको रहेछ । फिजियोथेरापी गर्न थालें। चार महिनापछि मैदानमा हिँड्न सक्ने भएँ । सामान्य प्रशिक्षण पनि लिन सक्ने भएँ । आफ्नो फिटनेसका लागि मैदानमा कुद्न थालें।
६ महिनापछि विस्तारै खेल्न थालें । तर, अहिलेसम्म पूर्ण निको भएको छैन । खेल्नेआँट आउँछ, तर घुँडा खुम्च्याउँदा, थुचुक्क बस्दा अझै पनि दुखिरहन्छ ।सायद जोसले पनि हुन सक्छ, प्रतिस्पर्धामा उत्रँदा कम दुख्छ ।तर, समस्या भएपनि बिस्तारै बिस्तारै खेलिरहेको छु ।मुख्य समस्या भनेको टुक्रुक्क बस्दा चसक्क हुन्छ ।डाक्टरका अनुसार यो ठूलो समस्या होइन, आराम गरेरै निको हुन्छ।
चोट लागेर मैदान बाहिर बस्नु खेलाडीका लागि दुखद विषयहो।त्यसैले अहिले जोगिएर खेल्ने गरेको छु । खेलको दौरान चोट लागेको ठाउँमा ध्यान गइरहन्छ । ‘यहाँ मेरो चोट लागेको छ, जोगिएर खेल्नुपर्छ’ भन्ने लागिरहन्छ ।
साधारण चोटले खेलमा खासै असर पर्दैन । म्याचको दौरान चोट लागेको एकैछिन पछि खेलाडी मैदान फर्कने अवस्थालाई गम्भीर रुपमा लिनुपर्दैन। तर, गम्भीर चोट लागेको खन्डमा पूर्ण आराम गरेर मात्र मैदान उत्रन खेलाडीलाई सल्लाह दिन्छु। डाक्टरसँगको सल्लाह लिएर उपचार गराएर मात्र मैदान उत्रनुपर्छ । हल्का इन्जुरी त हो नि भनेर हेलचेक्राइँगर्यो भने पछि खेलमा फर्कन गाह्रो पर्छ । पूर्णरुपमा निको भएर मात्र मैदान उत्रिएमा खेलसँगै आफ्नो स्वास्थ्यलाई फाइदा पुग्छ। शतप्रतिशत खेल्न सकिन्छ।
अर्काेतर्फ, खेलाडी स्वयं आफ्नो चोटबारे गम्भीर हुनुपर्छ । नेपालमा खेलाडीको बानी कस्तो हुन्छ भने, अलिअलि चोट लागेमा खासै ध्यान नदिने । चोट लागेको अवस्थामा मैदान उत्रँदा सामान्य चोट बल्झिँदै जान्छ। नेपालमा हल्का चोट लागेपनि खेल्नुपर्ने अवस्थाछ। खेल्न नसक्ने भएको भोलिपल्टदेखि कसैले गन्दैन, वास्ता गर्दैन भन्ने सोचेर खेलाडीले सामान्य चोटलाई बेवास्ता गर्दै खेल्नुपर्ने बाध्यता छ ।
अहिले राष्ट्रिय खेलाडी बाहेकका खेलाडी घाइते हुँदा समस्या पर्ने गरेको छ । राष्ट्रिय फुटबलरलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नै पहलमा उपचार गराउँछ । तर, बाहिर रहेका कतिपय खेलाडी पूर्ण फिट भएर मैदान उत्रन सकेका छन्।
यस्तै, मुख्य समस्या क्लबस्तरीय फुटबलरलाई छ ।क्लबमा रहेका खेलाडीलाई चोट लाग्यो भने उनीहरुले टिममा स्थान समेत पाउँदैनन् । अर्काेतर्फ, आफ्नै खर्चले उपचार गर्नुपर्छ। त्यसैले खेलका दौरान घाइते हुने खेलाडीलाई क्लबहरुले उपचार गरेर निको हुने वातावरण बनाइदिनुपर्छ। खेलाडी स्वस्थ र चुस्त रहे मात्र राम्रो प्रदर्शन गर्न सक्छ भन्ने क्लबहरुले बुझ्नु जरुरी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।