काठमाडौं- सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सीमा सुरक्षालाई मजबुत बनाउन तराईमा बढी जनशक्ति खटाइएको बताएका छन्।
सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै खनालले सीमा सुरक्षालाई मजबुत बनाउन आगामी दिनमा बोर्डर आउट पोस्ट (बीओपी)को संख्या पनि बढाउँदै लैजाने बताए।
सुरक्षा बेसहरुले न्यून जनशक्ति र सीमित स्रोत साधनका बाबजुत पनि उत्कृष्ट कार्य गरेको भन्दै उनले आगामी दिनमासमेत राज्यले दिएको जिम्मेवारीलाई त्रुटिरहित ढंगले अनुशासित र जिम्मेवारीका साथ पूरा गर्न निर्देशन दिए। सशस्त्र प्रहरी बल तराईमा परिचालन भएपश्चात् चोरी तस्करी नियन्त्रण भइ राजस्वमासमेत वृद्धि भएको र तराईका जनताले पहिलेभन्दा थप सुरक्षाको अनुभूति गर्न पाएको उनले दाबी गरे।
आगामी दिनमासमेत उत्कृष्ट कार्य गर्न मातहत कर्मचारिहरुलाई महानिरीक्षक खनालले निर्देशन दिए। सशस्त्र प्रहरी बलप्रति आमजनताले गरेको भरोसालाई कायम राख्दै आगामी दिनमा राष्ट्र र संगठनप्रति इमानदार, नैतिकवान, अनुशासित र उच्च समर्पणका साथ कार्य क्षेत्रमा खटिनसमेत उनले निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।