फाइल तस्बिर
काठमाडौं- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमानाकामा हुने अपराध, लागुऔषधको अवैध कारोबार लगायतका अपराध निर्मूल गर्नका लागि प्रहरी कर्मचारीहरुले विशेष प्राथमिकताका साथ आवश्यक कार्ययोजना तर्जुमा गरी काम गर्नुपर्ने बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहत कार्यालयका कार्यालय प्रमुख तथा कार्यरत प्रहरी अधिकृत एवं जवानहरुलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सोमबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन्।
प्रहरीले गरेका हरेक क्रियाकलाप प्रहरी संगठनसँग जोडिने हुनाले प्रहरी कर्मचारीहरुले आफ्नो कर्तव्य सदैव पारदर्शी रुपमा बहन गर्नुपर्ने उनले उल्लेख गरे। प्रहरी जीवन सार्वजनिक जीवन हो भन्दै आफ्नो आचरण र व्यवहारमा अझै सुधार ल्याउन, नम्र भाषा प्रयोग गर्न र खुसी साथ विना भेद्भाव नागरिकलाई समान एवं प्रविधिमैत्री सेवा प्रदान गर्न उनले निर्देशन दिए।
महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखी सेवा दिन उनले आग्रह गरे।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले अपराध नियन्त्रण तथा सफल अनुसन्धान, तस्करी तथा सीमा अपराध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण लगायत जनसरोकारका कार्य सञ्चालनको क्रममा स्थानीय प्रशासन, सरकारी वकिलको कार्यालय, अन्य सुरक्षा निकायहरु, स्थानीय तहलगायत सरोकारवाला निकायहरुसँग समन्वय राखी काम गर्नुपर्ने बताए। आन्तरिक मनोवल उच्च राख्न हरेक प्रहरी कार्यालयले प्रहरी नियमावलीमा भएका व्यवस्था लागू गर्न र आफ्ना परिवारलाई पनि महत्त्व दिनेतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।