काठमाडौं- सशस्त्र प्रहरी बलकै अधिकारीको सेटिङमा तस्करी हुने गरेको भन्दै उजुरी परेको छ।
सशस्त्र प्रहरी बलको पर्सास्थित बञ्जारी बोर्डर आउट पोस्ट (बीओपी)मार्फत् तस्करी हुने गरेको भन्दै सशस्त्र प्रहरी प्रधान कार्यालयमा उजुरी परेको हो।
बीओपीका प्रमुख इन्सपेक्टर कृष्ण पौडेलले तस्करीलाई संरक्षण गरेको आरोप लगाइएको छ। प्रदेश २ मा रहेको छिन्नमस्ता बाहिनीका तत्कालीन प्रमुख चन्द्रप्रकाश (सीपी) गौतममार्फत् बीओपीको कमाण्ड पाएका पौडेलमाथि व्यापक गुनासो आएपछि छानविनसमेत भएको थियो।
छिन्नमस्ता बाहिनीका हालका प्रमुख गणेश ठाडामगरले डीएसपीको कमाण्डमा छानविन टोली नै गठन गरेर पौडेलमाथि छानविनसमेत गरेका थिए। तर, छानविन समितिले भने पौडेलले तस्करीलाई बढावा नदिएको भन्दै रिपोर्ट बुझाएको थियो।
समितिले पौडेलको कुनै सेटिङ नरहेको उल्लेख गरे पनि अहिले पनि उनकै सेटिङमा तस्करी हुने गरेको भन्दै उजुरी परेको छ। छानविनपछि पनि स्थानीय व्यापारीलाई तस्करीको लाइन खुलाएर पौडेलले आर्थिक लाभ लिने गरेको गुनासो आएपछि सशस्त्र हेडक्वार्टरले पनि उनीमाछि पुन: छानविन गर्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।