काठमाडौं- गत असोज १७ गते कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ चम्पापुरस्थित कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा मानव कंकाल फेला पर्यो। स्थानीयमार्फत् उक्त इलाका प्रहरी कार्यालय गोरुसिङेसम्म पुग्यो।
खबर प्राप्त हुनासाथ गोरुसिङेबाट प्रहरी टोली अनुसन्धानमा खटियो। प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरे पनि तत्कालै उक्त कंकाल कसको हो भन्ने पहिचान हुन सकेन। यता प्रहरीले भने अनुसन्धान अघि बढाइरहेकै थियो।
मानव कंकाल भेटिएको झण्डै १० दिनपछि असोज २६ गते इलाका प्रहरी कार्यालय गोरुसिङेमा कर्तव्य ज्यान मुद्दा शीर्षकमा मुद्दा दर्ता भइ अनुसन्धान भइरहेकोमा कात्तिक ७ गते घटनास्थलमा फेला परेको हरियो रङको एक जोर चप्पल, कपडाहरुबाट मानव कंकालको सनाखत भएको थियो।
उक्त कंकाल कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-११ बाबा बनगाईकी ३५ वर्षीया चिन्का लोनियाको रहेको पुष्टि भयो। अनुसन्धानका क्रममा लोनियाको हत्या उनकै श्रीमान् ४५ वर्षीय राम केवलबाट भएको खुल्यो। श्रीमतीको हत्या गरी केवल भारतमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुल्यो।
फरार केवललाई इलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरीले कात्तिक १९ गते बुद्धभूमि नगरपालिका-९ डुमरामा फेला पारी पक्राउ गरेको छ।
लोनियाले पर पुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ। केवलले प्रहरीसमक्ष पनि हत्याको कारण परपुरुषसँगको सम्बन्ध रहेको बताएका छन्। सोही विषयमा आपसी झगडा भएपछि श्रीमतीलाई मार्ने योजना बनाइ भदौ १५ गते जंगलमा बत्ती काट्ने काठ लिन जाने बहानामा जंगलमा लगेर हसियाँले रेटी हत्या गरेको केवलले बताएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।