काठमाडौं– बलिउडको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’ शुक्रबारबाट प्रदर्शन भएको छ। भारतसँगै विश्वभरका ६६ देशका १३ सय स्क्रीनमा प्रदर्शन सुरु भएको फिल्मको पंजाबमा भने विरोध भइरहेको छ।
शुक्रबार फिल्मको प्रदर्शन भएपछि भारतको संयुक्त किसान मोर्चासँग जोडिएका पंजाबका किसानहरुले फिल्मका अभिनेता अक्षय कुमारको पुत्ला जलाएर फिल्मको विरोध गरेका छन्। किसान मोर्चाले फिल्मको विरोध गर्दै फिल्मलाई सिनेमाघरमा प्रदर्शन हुनबाट पनि रोकेका छन्। पंजाबका कैयौं सिनेमाहलहरुले सूर्यवंशीको पूर्वनिर्धारित प्रदर्शनलाई रद्द गरेका छन्।
विश्वभर कोरोना महामारीपछि दर्शकलाई सिनेमाघरसम्म तान्न सफल भइरहेको ‘सूर्यवंशी’लाई पंजाबमा भने किन प्रदर्शन गर्नमै रोक लगाइएको छ त?
फिल्मको प्रर्दशन बन्द गर्ने माग गर्दै विरोध गरिरहेका किसानहरुका अनुसार फिल्ममा अभिनेता अक्षय कुमारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचार गरेका छन्। प्रदर्शन गरिरहेका किसानका अनुसार जुन ब्यानरबाट फिल्म बनेको छ, त्यसलाई पनि प्रधानमन्त्री मोदीको सहयोग छ। सँगै फिल्मको विज्ञापन गरिरहेका च्यानलहरुलाई पनि प्रधानमन्त्रीले साथ दिएको आरोप किसानले लगाएका छन्।
भारतीय जनता पार्टीको संकेतिक रुपमा वकालत गरिरहने र मोदी सरकारको प्रचारका लागि कैयौं फिल्म खेलिसकेका अक्षय कुमा भाजपाकै सदस्य सरह हुन्। उनी थुप्रै पटक भाजपाको वकालत गर्दै सार्वजनिक रुपमै देखिएका छन्।
यसबीच मोदी सरकारसँग रुस्ट रहेका किसानहरुले अक्षयको फिल्मलाई निशानामा पारेका छन्। प्रदर्शन गरिरहेका किसानले पंजाबमा अक्षयको फिल्मलाई प्रदर्शन हुन नदिने र उनको फिल्मको छायांकन पनि हुन नदिने बताएका छन्।
सुरुवाती चरणमा राम्रो व्यापार गररहेको फिल्मले पंजाबमा कैयौं सिनेमाहलबाट प्रदर्शन रद्द भएपछि व्यापारमा घाटा पर्ने देखिएको छ। पहिलो दिन पंजाबमा १.८१ करोड भारतीय रुपैयाँको व्यापार गरेको फिल्मले अहिले भने पंजाबमा फितलो व्यापार गरिरहेको छ।
रोहित शेट्टीको ‘कप युनिभर्स’ अन्तर्गतको तेस्रो फिल्म सूर्यवंशीमा अक्षय कुमार आतंकवाद विरुद्ध लडिरहेका प्रहरी अधिकारीको भूमिकामा छन्। अक्षयसँगै फिल्म कटरिना कैफ, गुलशन ग्रोवर, अभिमन्यु सिंह, निकेतल धीर, सिकंदर खेर, जैकी श्राफ, कुमुद मिश्रालगायतको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।