काठमाडौँ– यमपञ्चक अन्तर्गत आज लक्ष्मीपूजा। ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ।
आजै कूल परम्पराअनुसार गाईको पूजा गर्ने प्रचलनसमेत छ। नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाईपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको बताइन्छ।
कतिले आजै गाई पूजा गरेका छन् भने कतिपयले भोलि गाई पूजा गर्ने गरेका छन्।
गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।
गाई पूजाका दिन घरमा गाई हुनेले गाईको पूजा गर्ने गर्छन् भने गाई नहुनेहरूले नजिक गाई भएको स्थानमा गई गाईको पूजा गर्ने गर्छन्। आज पशुपति लगायतका स्थानमा गाई पूजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।