काठमाडौं- हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज लक्ष्मी पूजा। आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ।
मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व तिहारमा फूलको व्यापार गर्नेहरुले सहर बजारका चोकचोक र गल्लीमा फूलका थुङ्गा र माला निकै आकर्षकरूपमा सजाएका छन्।
आज घरका द्वार पसलहरुमा फूलका मालाले सजाउन गरिन्छ। जसका कारण बजरमा फूलको मालाको व्यापार गर्नेहरु व्यस्त बनेका छन्।
धनधान्य, सौभाग्य आदि प्राप्तिका लागि कार्तिक कृष्णपक्ष औंसीको दिन लक्ष्मीको पूजा गरिन्छ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।
विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने चलन छ।
कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ। दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मी पूजाका अवसरमा शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।