तस्बिर : रासस। काठमाडौं– तिहार लागेसँगै भक्तपुरमा माटोका पाला बनाउन कुमालेहरुलाई भ्याइनभ्याई भएको छ।
दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन।
उनीहरु मागअनुसार पाला बनाउन भने नसकेको बताउँछन्। अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एकै कुमालेले एक लाख भन्दा बढी बिक्री गर्ने गरेको व्यवसायीहरु बताउँछन्। गत वर्ष कोरोनाका कारण बिक्री नभए पनि यसवर्ष मागअनुसारको परिपूर्ति गर्न नसकेको व्यवसायीहरुको भनाइ छ।
व्यवसायीहरुका अनुसार माटो अभावका कारण पाला बनाउन समस्या भएको छ। जताजतै प्लानिङ र शहरी विकासका कारण पाला लगायतका माटाका भाँडा बनाउने पेशा संकटमा परेको उनीहरुको गुनासो छ। पाला मात्र नभएर माटोका भाडा बनाउँदा विशेषगरी माटोको समस्या तथा माटोका भाडाहरु पोल्न स्थानको अभाव समेत हुने गरेको व्यवसायीहरू बताउँछन्।
उपत्यका तथा बाहिरका बासिन्दाहरुका लागि भक्तपुरमा बनाइएको पाला निकै परिचित छ। यसको मौलिक परिचयका कारण उपत्यकाबाहिर काभ्रे, सिन्धुपाल्चोक, पोखरा, धरानलगायत अन्य जिल्लाबाट समेत भक्तपुरसम्म पाला किन्न आउने गरेका छन्।
भक्तपुरमा दिपावलीमा पाला मात्र नभएर लाख बत्ती बालिने पालाहरु, विभिन्न माटाका भाँडाहरु दही जमाउने कतारो लगायतका विभिन्न भाँडाहरु बन्दै आएका छन्।
हाल नयाँ व्यवसायका रुपमा विभिन्न हटिया लगायतका चिया पसल एवं दहीका लागि ग्राहकले दिएको साइज र डिजाइनमा पनि प्रजापतिहरुले माटोका भाँडा बनाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।