काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया नटुङ्गिदै तत्कालीन नेकपा विग्रह भयो। सर्वोच्च अदालतको फागुन २३ को फैसलाले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा नै फर्काइदियो।
त्यसयता संगठन निर्माणमा जुटेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेबाहेकका कम्युनिष्ट पार्टीबीच एकता गर्नुपर्ने भन्दै आएका छन्। अन्य कम्युनिष्ट पार्टीबीच तत्काल एकता संभव नभए पूर्वमाओवादी पार्टीहरुबीच एकता गर्नुपर्ने प्रचण्डले बताउने गरेका छन्।
प्रचण्डले यसअघि पनि नेकपा एमालेसँग पार्टी एकता गरी वृहत कम्युनिस्ट केन्द्र बनाएर त्यसको नेतृत्व गर्ने आफ्नो सपना भएको बताउने गरेका थिए।त्यसअनुरुप एमाले र माओवादीबीच चुनावी तालमेल भयो। चुनावमा सफलता पाएपछि पार्टी एकीकरण थालियो। तर, तीन वर्ष पुग्दानपुग्दै नेकपा विघटनको अवस्था आयो।
तर, प्रचण्ड अझै पनि कम्युनिष्टहरुबीच एकताको पक्षमा वकालत गरिरहेका छन्। आगामी निर्वाचनमा पनि एमालेबाहेकका दलबीच मोर्चाबन्दी गर्नुपर्ने उनको भनाइ छ। अहिले सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मोर्चाबन्दी गर्ने सहमति थियो।
चुनावसम्मै मोर्चाबन्दी गर्नुपर्नेमा कांग्रेसबाहेकका चार घटकले बढ्ता जोड दिएका छन्। तर, कांग्रेसका शीर्ष तहका नेताबाटै चुनावी तालमेलको विपक्षमा भाषणबाजी हुन थालेको छ।
कांग्रेस चुनावी मोर्चाबन्दीमा सहभागी नभए माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले मात्र तालमेल गर्ने संभावना धेरै छ। यद्यपि, यी दलबीच पार्टी एकता नै हुने संभावना भने न्यून छ। चारै पार्टीका नेताहरु फरक स्कुलिङबाट आएका कारण एकता कठिन देखिएको हो।
पाँच पूर्वमाओवादी पाँचतिर
माओवादी पृष्ठभूमिका माओवादी केन्द्रबाहेक अरु चार पार्टी अस्तित्वमा छन्। अहिले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र गोपाल किराँती नेतृत्वको नेकपा माओवादी मोर्चा सक्रिय छन्।
रामबहादुर थापा ‘बादल’सहित नेताहरु एमालेमा प्रवेश गरेकाले छुट्टै अस्तित्वमा छैनन्। जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले माओवाद मात्रै नभई मार्क्सवाद नै त्यागेको घोषणा गरिसकेका छन्। उनले पूर्वमाओवादी एकतामा जोडिने कल्पनासमेत गर्न नसकिने बताउँदै आएका छन्। माओवादी केन्द्रले कम्युनिस्ट विचार त्यागेर समाजवादी विचार अंगालेमा एकताबारे सोच्न सकिने नेताहरुले बताउने गरेका छन्।
वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपा चुनावमा जाने वा नजाने टुंगो छैन। त्यसकारण चुनावी तालमेलको कुरै नहुने नेताहरुले बताएका छन्। पार्टी एकता गर्न माओवादी केन्द्रसँग छलफलसमेत नभएको क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले बताए।
आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीसँग चुनाव वा एकताको विषयमा छलफल नै नभएको एक नेताले बताए। आफूहरु बल्ल क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा जुटेको उनको भनाइ छ। किराँती नेतृत्वको नेकपा माओवादी मोर्चाले माओवादी केन्द्रसँग एकता गर्न खोजे पनि प्रचण्डले नमान्दा संभव हुन सकेको छैन।
के भन्छन् नेताहरु?
क्रान्तिकारी माओवादी नेता सिपी गजुरेल भन्छन्– ‘एकताबारे छलफल नै भएको छैन’
पूर्वमाओवादीहरुको बीचमा एकता हुने गरी वार्ता र छलफल केही भएको छैन। पूर्वमाओवादी एक हुने आधार नै छैन। पूर्वमाओवादी एक हुँदैछन् भनेर भावना पैदा गराउने, छोटो समय भए पनि भ्रम दिने काम प्रचण्डजीले गरिरहनुभएको छ। पार्टी एकताको कुरा त धेरै टाढाको भयो, तालमेल समेत हुने सम्भावना छैन।
प्रचण्डजीले पूर्वमाओवादी एकता भनिरहँदा हामी हुँदैन भनिरहेका छौँ। उहाँले एकताको कुरा गरेर के लाभ लिन खोजेको हो, थाहा छैन।
चुनावमा भाग लिने कि नलिने हाम्रो पार्टीको टुंगो छैन। भाग लिने नै निश्चित छैन भने तालमेल हुने कुरै भएन। उनीहरु पाँच दलीय गठबन्धन बनाउने, चुनावमा भाग लिने भनिरहेका छन्। फेरि पूर्वमाओवादी एकताको कुरा पनि गर्नु भएको छ। प्रचण्डजीका कुरा नै बुझिनसक्नु छ।
नेकपा नेता धर्मेन्द्र बास्तोला भन्छन्– ‘वृहत कम्युनिस्ट एकताको पक्षमा छौँ’
पूर्वमाओवादी एक ठाउँमा हुने सम्भावना नै नभएको बताउन मिल्दैन। विचार र दृष्टिकोण मिलेमा राजनीतिमा असंभव केही छैन। तर, प्रचण्डजीले सेन्टिमेन्ट तयार गर्न पूर्वमाओवादी एकताको कुरा बोल्नु भएको छ। पूर्वमाओवादी एक हुने वा चुनावी तालमेल हुने विषयमा अहिलेसम्म केही छलफल भएको छैन।
हामीले ‘संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद’ भन्ने विषयमा जनमतसंग्रह गरौँ भनेका छौँ। अहिलेको संविधान र व्यवस्थाले देश र जनताको मुक्ति दिँदैन। विकल्पमा वैज्ञानिक समाजवाद निर्माण र समाजवादी अर्थप्रणाली निर्माणमा जानु पर्छ। त्यसका लागि पूर्वमाओवादीहरु तयार भए एकता हुनसक्छ।
पूर्वमाओवादी मात्रै होइन, अरु कम्युनिस्ट पार्टीहरुबीच एकता गरेर वृहत कम्युनिस्ट केन्द्र निर्माण गर्नुपर्छ। वृहत कम्युनिस्ट एकताले मात्रै मुलुक र जनताको समस्या समाधान गर्न सकिन्छ भन्ने छ।
जसपा नेता गंगा श्रेष्ठ भन्छन्– ‘समाजवादी केन्द्र बनाउने सर्तमा एकता हुनसक्छ’
पूर्वमाओवादी एक हुने भनेर प्रचण्डजीले किन बोलिरहनु भएको छ, थाहा छैन। पूर्वमाओवादीको पुनःगठन गरेर देशको समस्या समाधान हुनेवाला छैन। शक्तिका हिसाबले दीर्घकालीन रुपमा दीगो पनि बन्दैन। अहिले समाजवादी बृहत ध्रुबीकरणको खाँचो छ। माओवादी पुनःगठनको खाँचो छैन।
यदि पूर्वमाओवादीहरु एक ठाउँमा भए पनि दीर्घकालीन रुपमा ठूलो शक्ति हुँदैन। पुँजीवाद र साम्यवादको विकल्पमा नयाँ समाजवादी केन्द्र बनाउने सोचसहित अगाडि बढे साँच्चैको शक्ति प्राप्त गर्न सकिने देखिन्छ। त्यसले एउटा ठाउँ सिर्जना गर्छ।
अब ‘ब्राण्डेड’ कम्युनिस्ट केपी ओलीवाला एमाले भइसक्यो। फेरी अर्को कम्युनिस्ट पार्टी बनाउँछु भनेर कहाँ हुन्छ? त्यो हुने कुरै होइन। हिजो कुनै जमानामा भयो। अब अर्को कम्युनिष्ट पार्टी बनाएर शक्ति आर्जन गर्न संभव छैन।
आहुति भन्छन्– ‘अस्तित्वको संकट आएपछि प्रचण्डजी एकताको कुरा गर्नुहुन्छ’
पूर्वमाओवादी एक हुने वा तालमेल हुने विषयमा छलफल र बहस भएको छैन। प्रचण्डजी आफैँ बोल्दै हिड्नुभएको छ।
फेरि, पूर्वमाओवादी भनेको को हो? बाबुरामजी माओवादी नै हुनुभएन। बाबुरामजीहरुसँग तालमेल गर्न सक्नुहोला, त्यो अर्कै कुरा भयो। तर, कसरी एकता होला? किरण र विप्लवजीले एकता गर्ने कुरा छैन। कताबाट पूर्वमाओवादी एकता हुन्छ?
प्रचण्डजीलाई नेता कार्यकर्ता जोगाउनु पर्नेछ। मनोवैज्ञानिक रुपमा बलियो हुनु छ। त्यही भएर कहिले को र कहिले कोसँग एकता गर्ने भनेर हिँड्नु भएको छ। प्रचण्डमा अस्तित्वको संकट आएपछि यस्तो बोल्दै हिँड्नु भएको हो। केही ठोस विषय हो भन्ने लाग्दैन।
गोपाल किराँती भन्छन्– ‘पूर्वमाओवादी ध्रुवीकरण आवश्यक छ’
पूर्वमाओवादीबीच धुर्वीकरण गर्ने पहलको सुरुवात हामीले गरेका हौँ। ध्रुवीकरण बस्तुगत आवश्यकता हो। हामीलाई कसैले केही भनेका छैनन्। सफल हुने नहुने थाहा छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।