काठमाडौं– नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास सुरु भएको छ। छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा सोमबार आयोजित एक समारोहका बीच नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास 'इएक्स–टिक नेल २२' सुरु भएको हो।
नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहको उपस्थितीमा सुरु भएको उक्त कार्यक्रममा अमेरिकी दूतावासको प्यासिफिक एगुमेन्टेशन टिम तथा अफिस अफ डिफेन्स कर्पोरेशन (ओडीसी) का प्रमुख र नेपाली सेनाका रथीसहित अधिकृतहरुको उपस्थिति रहेको थियो।
संयुक्त तालिममा नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरु मध्येबाट करीब ५० जना सहभागी छन्। यस्तै, अमेरिकी सेनाका करीब २० जना तालिममा सहभागी छन्।
संयुक्त तालिम काठमाण्डौं, पोखरा र अन्नपुर्ण बेस क्याम्प इलाकामा संचालन हुने छ। तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउने उद्देश्य रहेको नेपाली सेनाले जानकारी दिएको छ।
सोमबारबाट सुरु भएको तालिम आगामी मंसिर १४ गतेसम्म संचालन हुनेछ।
यस किसिमको संयुक्त तालिमबाट दुवै देशका विपत् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरुमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक क्षमता अभिबृद्धि हुने नेपाली सेनाले जनाएको छ। संयुक्त तालिमबाट दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने पनि सेनाको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।