काठमाडौं– सुरज बर्जत्यको निर्देशनमा बनिरहेको बलिउड फिल्म ‘उचाईं’को नेपालमा हुने दृश्यहरुको छायांकन सकिएको छ। २५ दिन नेपालको काठमाडौंसँगै हिमाली भेगहरुमा फिल्मको छायांकन गरिएको हो।
नेपालको खोटाङदेखि नाम्चे, मनाङ लगायतका क्षेत्रको दृश्य खिचेसँगै फिल्मको पहिलो तालिकाको छायांकन सकिएको फिल्मको निर्माण पक्षले बताएको छ। २८ अक्टोबरसम्म नेपालको हिमाली भेगमा फिल्मको छायांकन भएको थियो। सँगै दुई दिन काठमाडौंमा पनि फिल्मको छायांकन गरिएको छ।
नेपालमा छायांकन हुने दृश्यका लागि फिल्मका कलाकार अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतका कलाकार नेपाल आएका थिए। नेपालको छायांकनको जिम्मा लिएको राजश्री प्रोडक्सनकाअनुसार फिल्मको दोस्रो तालिकाको छायांकन अब भारतमा सुरु हुनेछ।
मित्रताको कथामा आधारित रहेको फिल्ममा खेर, इरानी, चोपडासँगै अमिताभ बच्चन, निना गुप्ता लगायतको अभिनय रहने छ। फिल्ममा बुढेशकालमा साथीहरुबीचको मित्रताको कथालाई देखाइने बताइएको छ।
नेपालमा छायांकन सकेको फिल्म टोली शनिबार भारत फर्किएको छ।
फिल्मको छायांकन सकिएसँगै नेपाल आएका कलाकारहरुले यहाँको सुन्दरतासँग आतिथ्यताको वर्णन गर्दै सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्। मुख्य अभिनेतामध्येका एक अनुपम खेरले ट्टिवरमा लेखेका छन्, ‘उचाईंको पहिलो तालिकाको छायांकन सकिएको छ। यसपटकको अनुभवले मलाई थप उर्जाशील बनाएको छ। नेपालमा भएको २७ दिनको छायांकन निकै विशेष थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।