काठमाडौं– सार्वजनिक बसमा सवार यात्रुबाट १ लाख ५ हजार रुपैयाँ लुटपाट गरेको आरोपमा पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
धादिङबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख ५३७२ नम्बरको बसका यात्रुको नगद १ लाख ५ हजार रूपैयाँ लुटपाट गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही बसमा सवार काभ्रे घर भएका ३० वर्षीय राजु लामा सहित २ जना छन्। बसका यात्रुको नगद लुटपाट भएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो।
बसमा सवार बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय पुरूषको साथबाट राजु लगायत ३ जनाले हातपात समेत गरी १ लाख ५ हजार रुपैयाँ लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले पक्राउ परेका २ जनाको साथबाट लुटिएको रकम बरामद भएको जानकारी दिएको छ। लुटपाटमा संलग्नमध्ये १ जना अझै फरार छन्। फरार रहेका व्यक्तिको खोजी जारी रहेको जनाइएको छ।
पक्राउ परेका २ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।