काठमाडौं- दक्षिण भारतीय अभिनेता पुनित राजकुमारको निधन भएको छ। शुक्रबार बेंगलुरुस्थित विक्रम अस्पतालमा उनको निधन भएको हो।
भारतीय सञ्चारमाध्यमकाअनुसार उनलाई हृदयघात भएपछि अस्पताल पुर्याइएको थियो। आईसीयूमा राखिएका उनको दिउँसो निधन भएको बताइएको छ।
बिहान ११:३० मा छातीमा समस्या भएपछि अस्पताल पुर्याइएका उनको आईसीयूमा उपचार भइरहँदा मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ।
दक्षिण भारतका सफल अभिनेता राजकुमारका छोरा पुनितको ४६ वर्षको उमेरमा निधन भएको हो। सन् १९७५ मार्चमा जन्मिएका उनले करिब तीन दशक दक्षिण भारतीय सिनेमामा काम गरेका थिए। फिल्म करिअरको सुरुआत बालकलाकारको रुपमा गरेका उनले भारतको राष्ट्रिय अवार्डसमेत पाइसकेका छन्।
सन् २००२ मा उनले ‘अप्पु’ फिल्मबाट डेब्यू गरेका थिए। बालकलाकारको भूमिकामा ‘बेट्टदा होभु’ नामक सिनेमाका लागि उनलाई राष्ट्रिय अवार्ड दिइएको थियो। पछिल्लो समय ‘ज्याकी’, ‘अन्ना बोण्ड’, ‘मिलना’जस्ता फिल्ममा अभिनय गरेपछि उनी थप चर्चामा आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।