काठमाडौं– सिनेमा हल खुले यता नेपाल फिल्म हलमा दर्शकको भिड पहिलेजस्तो हुन सकेको छैन। दशैंको छेकोमा प्रदर्शन आएका दुई नेपाली फिल्म फ्लप भएका छन् भने हलिउड फिल्ममा पनि सिमित दर्शकमात्रै देखिएका थिए।
यसबीच हलिउडका चर्चित र बहु प्रतिक्षित दुई फिल्म नेपालमा प्रदर्शनका लागि आएका छन्। शुक्रबारबाट नेपाली सिनेमा हलहरुमा डेनिस भेनेल्युबको निर्देशनमा बनेको ‘ड्युन’ र एन्डि सेक्रिसको निर्देशनमा बनेको ‘भेनमः लेट दियर बि कारनेज’ प्रदर्शनमा आएका हुन्।
भेनेल्युबको निर्देशनमा बनेको ‘ड्युन’ यो वर्षकै बहुप्रतिक्षित र उत्कृष्ट हलिउड सिनेमा मध्येको एक हो। १९६५ मा सार्वजनिक भएको फ्रेक हर्बेटको ‘ड्युन’ नामक उपन्यासमा आधारित रहेको यो फिल्ममा टिमोथी चालमेट, रेबेका प्रगुसोन, अस्कर आइजेकलगायतका कलाकारको अभिनय रहेको छ। दुई भागमा बन्ने फिल्मको पहिलो भाग अहिले प्रदर्शनमा आएको हो भने दोस्रो भाग २०२३ अक्टोबरमा प्रदर्शन हुने बताइएको छ।
ड्युनले हलिउडसँगै विश्व बजारमा पनि निकै राम्रो चर्चा र कमाई पाइरहेको छ। समिक्षकदेखि दर्शकसम्मले रुचाइएको यो फिल्मलाई लिएर नेपालमा पनि उत्तिकै चासो भएकाले सिनेमा हलमा दर्शकको उत्साहजनक उपस्थिति हुने सम्भावना छ।
शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को फिल्म ‘भेनमः लेट दियर बि कारनेज’ मार्बल कमिक्समा आधारित रहेर निर्माण भएको सिनेमा हो। एण्डि सेक्रिसको निर्देशनमा बनेको यो फिल्ममा टम हार्डि, माइकल विल्यम्स, वुडि हारेल्सन लगायतको अभिनय छ।
भेनमका अधिल्ला श्रृङ्खलाहरु निकै सफल भएका थिए। यस पटकको भेनम श्रृङखलाका लागि पनि दर्शकको उत्साहजन प्रतिक्रिया देखिन्छ। विश्वभर राम्रै व्यापार गरेको फिल्मले नेपालमा कस्तो व्यापार गर्छ भन्ने शुक्रबार प्रदर्शन पछि थाहा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।