महोत्तरी- गोली प्रहार गरी लुटपाट गर्ने समूहका मुख्य योजनाकार पक्राउ परेका छन्।
सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास ‘बी’ टोल बस्ने ४२ वर्षीय कारी पासवान भन्ने विश्वनाथ पासवानलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोनमा गाउँपालिका– ३ रघुनाथपुरबाट पक्राउ गरेको हो।
सम्सी गाउँपालिका–१ पर्सा बजार बस्ने ५७ वर्षीय वीरेन्द्र साहले आफ्नै घरमा सञ्चालन गरेको राजिव ज्वेलर्स सुनचाँदी पसलमा गत असार ३ गते राति लुटपाट भएको थियो।
राति आएका लुटेराको समूहले घर परिवारका सदस्यलाई रड तथा वीरेन्द्रलाई कटुवा पेस्तोलबाट गोली प्रहार गरेर घाइते बनाई लुटपाट गरेका थिए।
लुटेराको समूहले करिब ८ लाख ९७ हजार २ सय रुपैयाँ बराबरको नगद तथा सुनचाँदीका गहना लुटपाट गरेर लगेका थिए।
सोही घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्नेक्रममा प्रहरीले सोनमा गाउँपालिका– ३ रघुनाथपुरबाट पासवानलाई पक्राउ गरेको हो।
पासवान लुटपाट, बम प्रहार, डाँका तथा हातहतियार, अपहरण तथा शरिर बन्धक, चोरीलगायतका विभिन्न आपराधिक घटनामा संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।