काठमाडौं- मानव बेखबिखन गरेको आरोपमा एक जना कोरियोग्राफर पक्राउ परेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले कोरियोग्राफर विश्वबन्धु घिमिरेलाई पक्राउ गरेको हो।
भरतपुर महानगरपालिका-१० का ५० वर्षीय घिमिरेलाई चितवनको क्षेत्रपुरबाट पक्राउ गरिएको ब्यूरोका एसपी तथा प्रवक्ता अनुराग द्विवेदीले जानकारी दिए।
नृत्य सिक्ने क्रममा चिनजान भएकी १९ वर्षीय युवतीलाई घिमिरेले दुबई लैजाने र स्टेज शोमा नृत्य गर्ने र तीन महिनादेखि छ महिनासम्म दुबईमै बस्नुपर्ने बताएका थिए। त्यसबापत् महिनाको एक लाखदेखि राम्रो नृत्य गरेको अवस्थामा चार लाख रुपैयाँसम्म मासिक कमाइ हुने आश्वासन देखाएका थिए।
युवतीले दुबई जानका लागि आफ्नो कागजात पेस गर्दा कम उमेर देखिएकाले दुबई जान नमिल्ने भयो भारतको बैंगलोरमा स्टेजमा लैजान्छु भन्दै घिमिरेले स्थलमार्ग हुँदै युवतीलाई २०७० फागुन ४ गते भारत पुर्याएका थिए।
बैंगलोरमा चिफ इन र सेनोरीता भन्ने रेस्टुरेण्टमा युवतीलाई जबरजस्ती यौन व्यवसायमा लगाउनेगरी घिमिरेले बेचेको आरोप लागेको छ। पछि युवती २०७१ वैशाख १५ गते माइती नेपालको सहयोगमा नेपाल फर्कन सफल भएकी थिइन्। त्यसपछि उनले २०७१ जेठ ११ गते घिमिरेविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्।
हाल पक्राउ परेका घिमिरे ३० बर्ष अगाडिदेखि विभिन्न नृत्य केन्द्रहरुमा नृत्य प्रशिक्षकका रुपमा काम गर्दै आएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।