काठमाडौं– यो वर्षकै बहुप्रतिक्षित र सफल चलचित्र हो ‘ड्युन’। साइन्स फिक्सन विद्यामा रहेको उक्त फिल्म प्रदर्शनमा आए लगत्तै चर्चामा छ। फ्रेन्च– क्यानेडियन निर्देशन डेनिस भेलेन्युवको निर्देशनमा बनेको फिल्मको दोस्रो भोग २०२३ मा प्रदर्शनमा आउने भएको छ।
सन् १९६५ मा सार्वजनिक भएको लेखक फ्रेन्क हर्वेटको पुस्तकमा आधारित फिल्मको पहिलो शृङ्खला अहिले सार्वजनिक भएको हो। हंगेरीबाट ४ कात्तिकमा प्रदर्शन सुरु गरेको फिल्म कात्तिक ५ मा भारतमा र नेपालमा कात्तिक १२ अर्थात् शुक्रबार प्रदर्शनमा आउँदै छ। नेपालको ‘क्युएफएक्स सिनेमा’ चेनमा रहेका फिल्म हलहरुमा शुक्रबारबाट फिल्म प्रदर्शन हुँदै छ।
शृङ्खलाको पहिलो भाग अभिनेता टिमोथी चालामेट अभिनित सिनेमाको पात्र पौल अट्रैडिजको परिवारको मृत्यु पछि फरमेन समुदायको शरणमा पुगेको दृश्यमा अभिनेत्री जेन्डाया अभिनित सिनेमाकी अर्की प्रमुख पात्र चैनीले, ‘यो सुरुवात मात्र हो’ भनेको दृश्यमा सकिएको छ। दोस्रो भागमा दर्शकले त्यसपछिको कथा हेर्न पाउनेछन्।
फिल्मका निर्देशक भेलेन्युवका अनुसार २०२३ को अक्टोबारमा फिल्मको दोस्रो भाग प्रदर्शन हुनेछ। दोस्रो भागको छायांकनको तयारी भइरहेको र फिल्मका लागि पोशाक तथा सेटको व्यवस्था भइरहेको उनले सञ्चारमाध्यमलाई बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।