काठमाडौं– उत्कृष्ट कार्य गरेको भनेर पुरस्कृत गरेको भोलिपल्टै इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरिक्षक (डीएसपी) मदन कुँवरको जिम्मेवारी खोसिएको छ।
डीएसपी कुँवरलाई असोज महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट भन्दै पुरस्कृत गरिएको थियो। उनलाई असोज ६ गते ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरी नगदसहित पुरस्कार गरिएको थियो।
डीएसपी कुँवरले आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको, फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरणमा उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरिएको थियो।
तर यसरी पुरस्कृत पाएको भोलिपल्टै उनको जिम्मेवारी खोसिएको छ। कुँवरलाई प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय काज सरुवा गरिएको छ। उनको ठाउँमा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा, तनहुँमा कार्यरत डिएसपी ठगबहादुर केसीलाई काज सरुवा गरिएको छ।
प्रहरी नियमावली २०७१ अनुसार जिम्मेवारी सम्हालेको १ वर्ष नपुगी सामान्यतया सरुवा नगर्ने उल्लेख छ। तर कुँवर भने जिम्मेवारी सम्हालेको ४ महिनामै सरुवा भएका छन्।
त्यसैगरी महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपीको पनि प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ। दरबारमार्गमा कार्यरत रहेका डीएसपी रामेश्वर पौडेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज पठाइएको छ। जिम्मेवारी सम्हालेको १ वर्ष पूरा भएकाले पौडेलको सरुवा गरिएको हो।
उनको ठाउँमा प्रहरी कर्मचारी पिरमर्का छानबिन इकाइ दरबन्दी भई सशस्त्र प्रहरी गण नम्बर १ नक्सालमा कार्यरत रहेका डीएसपी विश्वराज खड्काको काज सरुवा गरिएको छ।
आकर्षक मानिने दरबारमार्ग वृत्तको इन्चार्ज पाउने खड्का पूर्वगृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काका भतिज हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।