काठमाडौं- लामो समय राष्ट्रिय महिला बास्केटबल टोलीको कप्तानी सम्हालेकी खेलाडी हुन्, सदीना श्रेष्ठ। विगत ९ वर्षदेखि उनी राष्ट्रिय बास्केटबल टिमको कप्तान छिन्।
उनले सक्रिय रूपमा बास्केटबल खेल्न थालेको नै १९ वर्ष पूरा भइसकेको छ। उनकै नेतृत्वमा नेपालले दुई वर्षअघि काठमाडौं, पोखरा र जनकपुरमा संयुक्तरुपमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला बास्केटबलतर्फ रजत पदक जितेको थियो।
सागमा पहिलोपल्ट समावेश महिला बास्केटबलमा रजत जित्नु चानचुने उपलब्धि पक्कै थिएन। नेपालमा महिला बास्केटबलको उदय भएको छोटो अवधिमै नेपाली चेलीले चुमेको यो उपलब्धि वास्तवमै प्रशंसनीय थियो। आफ्नो कप्तानीमा नेपाललाई यति ठूलो उपलब्धि दिलाएकी सदीना अहिले नेपालमा चलिरहेको फुटबल खेलाडीको तलब विवादलाई लिएर चकित छिन्।
करिब दुई दशक नेपाली बास्केटबलमा बिताएकी ३१ वर्षीया सदीनालाई राष्ट्रिय खेलाडी भएबापत् तलब पाइन्छ भन्ने हेक्का अहिलेसम्म थिएन। गत बिहीबार एउटा टेलिभिजन कार्यक्रममा नेपाली फुटबल खेलाडीले खेलेबापत् मासिक १८ हजार पाउँछन् भन्ने सुन्दा उनी अचम्म परिन्। उनको मन कुँडियो। उनी उल्टै प्रतिप्रश्न गर्दै थिइन्, ‘तलब! राष्ट्रिय टोलीबाट खेल खेलेर पनि तलब पाइन्छ र?’
उनी यसरी आश्चर्यमा पर्नु अस्वाभाविक थिएन। किनभने नेपाली महिला बास्केटबल टोलीले यति धेरै खेल खेलिसक्दा पनि खेलाडीहरुले तलबको मुख देख्न पाएका छैनन्।
खेलाडीले पाउने तलब के हो? र यो कसरी पाइन्छ? कसले दिन्छ? सदीनालाई थाहा छैन।
२८ वर्षपछि साफ च्याम्पियनसिपको फाइनलमा पुगेर उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीले तलबस्वरुप मासिक १८ हजार बुझ्छन् भनेको टेलिभिजनबाट सुन्दा उनीसँगै कार्यक्रम हेरिरहेको उनको परिवार पनि अचम्ममा पर्यो।
‘मलाई खेल्दा संघले तलब दिन्छ भन्ने यसभन्दा अगाडि थाहा थिएन। जब टेलिभिजनमा तलबको कुरा उठ्यो अनि मात्र थाहा पाएँ, खेल्दा पनि तलब पाइने रहेछ,’ उनी भन्छिन्, ‘केही संघले तलब भनेर धेरथोर दिने त रहेछ। हामीले त अहिलेसम्म तलब कस्तो हुन्छ, मुख पनि देख्न पाएका छैनौं।’
उनले तलबको नाममा अहिलेसम्म संघबाट २६/२७ सय र केही प्रतियोगितामा एक/दुई थान जर्सी पाएको बताइन्।
‘हामीले पाउने भनेको भत्तामात्र हो। त्यो नि प्रतिखेल हेरेर दिइन्छ। मसँग तपाईंको जवाफको यकीन उत्तर छैन। हामीले कति पाउनुपर्ने हो, संघले कति दिनुपर्ने हो थाहा छैन। तर जे पाउँथ्यौं, त्यसैमा चित्त बुझाउँथ्यौं,’ उनी भन्छिन्।
ललितपुर, पुल्चोककी रैथाने सदीना सुरुमा फुटबल खेल्थिन्। त्यतिबेला महिला फुटबलमा बढी राजनीति थियो। त्यसैले उनी बास्केटबलतर्फ मोडिइन्। उनले बास्केटबल रोज्दा परिवारले पनि कुनै रोकतोक गरेन। उनको परिवार मूलतः महिला फुटबल खेलाडीले भरिएको परिवार हो।
भर्खरै बामे सर्दै गरेको बास्केटबलमा लाग्दा सुरुमा उनको परिवारले पनि सोचेको थिएन, सदीनाले बास्केटबलमा नयाँ उचाईं चुम्ने छिन् भनेर। तर, आफ्नो कप्तानीमा राष्ट्रलाई रजत पदक दिलाएपछि घरमा उनको कद बढेको छ।
तर, उनी आफूले कमाएको त्यो नामले मात्र नपुग्ने बताउँछिन्। ‘हो, बास्केटबलले मलाई सदीना भनेर चिनाएको छ। तर, यतिले मात्र पुग्दैन नि। राज्यले नाम दिएको छ। तर, दिनुपर्ने कुरा (कोर्ट र सेवासुविधा) दिएको भए, अझ बढी गर्न सक्थ्यौं,’ उनी भन्छिन्।
बास्केटबलको यही अवस्था बुझेर स्नेहा श्रेष्ठ, लुलिना सिंह, सुजाता राई र ज्ञानु गौचनजस्ता प्रतिभावान साथी पढ्ने बाहनामा विदेशिएको उनको भनाइ छ।
साफ प्रतियोगितामा यति ठूलो उपलब्धि दिलाएको बास्केटबल खेल्न अहिले संघकै आफ्नो कोर्ट छैन। कलेज-कलेज चहारेर प्रशिक्षण गर्नुपर्ने अवस्था छ। भुइँचालोका कारण त्रिपुरेश्वरस्थित इन्डोर हल जीर्ण बनेपछि राष्ट्रिय खेलाडीलाई अभ्यास गर्न निकै कठिन बनेको थियो। साग प्रतियोगिता खेल्दा पनि राम्रोसँग प्रशिक्षण गर्ने मौका नपाएको नेपाली टोलीले रजत जितेर नेपाली महिला बास्केटबलको भविष्य रहेको प्रमाणित गरेको थियो।
‘टिम वर्कका कारण हामीले यो उपलब्धि हात पारेका हौं। ठेलमठेल कोर्टमा दिनभरि उभिएर बस्थ्यौं, अनि बेलुका फर्किन्थ्यौं,’ उनी भन्छिन्।
यसभन्दा अगाडि बास्केटबलको अवस्था यस्तो थिएन। टेण्डी शेर्पा बास्केटबल संघको अध्यक्ष हुँदा संघका खेलाडीहरुको शान नै बेग्लै थियो। उनी नेतृत्वमा रहँदा नेपाली बास्केटबल खेलाडीले स्वदेशमा मात्र होइन, विदेशमा पनि स्तरीय ट्रेनिङ गर्ने मौका पाएका थिए। फुटबल खेलाडीलाई जस्तै बास्केटबल खेलाडीलाई पनि नियमित मासिक तलब दिने योजना शेर्पाको पनि थियो। तर, चार वर्षअघि टाउकोको समस्याले ग्रस्त हुँदा उनी बास्केटबलमा फर्कन सकेका छैनन् भने संघ लथालिङ्ग अवस्थामा छ।
उनको अनुपस्थितिमा संघको नेतृत्व गरिरहेका अन्य पदाधिकारीले उनीजस्तै प्रभावकारी काम गर्न नसक्दा बास्केटबलको अवस्था दयनीय बनेको छ।
‘तलबको कुरा छोडिदिनुस्, सागपछि हामीले कुनै प्रतियोगिता खेल्न पाएका छैनौं। उहाँ त बिरामी हुनुहुन्छ। संघमा अन्य व्यक्ति छन्। तर, उहाँ जतिको काम भइरहेको छैन,’ सदीना भन्छिन्।
उनी राष्ट्रियस्तरको प्रतियोगिता मात्र होइन, क्लबको अवस्था पनि प्रभावकारी नहुँदा खेलाडीलाई निकै गाह्रो परेको बताउँछिन्। ‘फुटबलमा कम्तिमा क्लबले त खेलाडीलाई पालिरहेको छ। हामीसँग त त्यो पनि छैन,’ उनी भन्छिन्, ‘अहिले जति पनि खेलाडी बास्केटबल खेलिरहेका छन्, उनीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा हामीले पाएको सफलताले गर्दा मात्र आकर्षित भएको हो जस्तो लाग्छ।’
तर, यो आकर्षण कहिलेसम्म रहने हो, त्यो उनलाई पनि थाहा छैन। त्यसैले उनी संघलाई फुटबलजस्तै सक्रिय रहन सुझाव दिन्छिन्। ‘हामीले केही मागेका छैनौँ र माग्दैनौँ पनि। तर, संघले कम्तीमा खेल्ने वातावरण त बनाउनुपर्छ,’ संघप्रति उनको आग्रह छ।
तस्बिर/भिडियो:निमेषजंग राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।