काठमाडौं- लमजुङ घर भएकी एक युवतीलाई बेल्जियम पठाउने भन्दै मलेसिया पुर्याएर बेचबिखन गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बागलुङको गल्कोट नगरपालिका-४ घर भएका ४४ वर्षीय राजेन्द्र खड्कालाई पक्राउ गरेको हो। उनलाई गत बिहीबार सिनामंगलबाट पक्राउ गरिएको हो।
लमजुङ घर भएकी एक युवतीसँग खड्काको कमल बस्नेत भन्ने व्यक्तिमार्फत् चिनजान भएको थियो। खड्का थाइल्याण्डमा विगत आठ वर्षदेखि कपडाको व्यवसाय गर्दै आएका थिए। खड्काले ती युवतीलाई बेल्जिममा होटलमा हेल्परको काम लगाइदिने र मासिक डेढ लाख रुपैयाँसम्म कमाइ हुने प्रलोभन देखाएका थिए। त्यसपछि पटक-पटक गरेर ती युवतीबाट खड्काले आठ लाख ५४ हजार रुपैयाँसमेत दिएको ब्यूरोका प्रवक्ता अनुराग द्विवेदी बताउँछन्।
उक्त रकम बुझाएपछि ती युवतीलाई सन् २०१९ मेमा नेपालबाट भैरहवा हुँदै भारत गोरखपुर, कलकत्ता तथा त्यहाँबाट थाइल्याण्ड र कम्बोडियासम्म पुर्याइएको थियो।
बैंककमा ती युवतीलाई खड्काले आफ्नो कोठामा १५ दिनसम्म राखेका थिए। त्यहाँ खड्काले नै चिनजान गराएका भारतीय नागरिक पर्विन्दर सिंहले उनीमाथि यौन शोषणसमेत गरेको पीडितले बताएकी छन्।
त्यसपछि उनलाई मलेसिया पुर्याएर हाजी साब भन्ने मानिसको जिम्मा लगाइएको थियो। साबले बेल्जिय पठाउने भनिए पनि उनले पर्याप्त कागजात नभएको भन्दै उनलाई मलेसियामै अलपत्र पारेर छाडेका थिए। पीडित महिला मलेसियामा रहेका आफन्तमार्फत् २०२० मार्चमा नेपाल फर्कन सफल भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।