काठमाडौं– अमेरिका जाने प्रलोभनमा देखाएर रोहिंग्या शरणार्थी नेपाल भित्र्याउने तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
म्यान्मार घर भइ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय नूरुल अमिन, कपन राम मन्दिर (शरणार्थी क्याम्प) मा बस्दै आएका २७ वर्षीय शफिक आलम र बंगलादेश घर भइ काठमाडौंको डल्लु बस्ने ३० वर्षीय अजमत उल्लालाई काठमाडौं जिल्ला अदालतले आइतबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। उनीहरुले पछिल्लो एक महिनामा १ महिनामा ३९ जना रोहिंग्या शरणार्थीलाई नेपाल ल्याइपुर्याइएको अनुसन्धानबाट खुलेको थियो।
बंगलादेशमा रहेका रोहिंग्या शरणार्थीलाई विभिन्न प्रलोभनमा पारेर भारतको बाटो हुँदै नेपाल पुर्याएको देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई बुझाएको थियो।
ब्यूरोले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत् जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा आइतबार प्रतिवादी तीनै जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश आएको ब्यूरोले जानकारी दिएको छ।
उनीहरुले बंगलादेशमा रहेका रोहिंग्यालाई नेपाल पुगेपछि अमेरिका जान पाइने र नेपालमा बस्दा मासिक भत्ता समेत पाइने भनेर प्रलोभनमा पार्ने गरेका थिए। उनीहरुले नेपालमा बस्दा पुरुषलाई प्रतिमहिना ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ भत्ता पाइने तथा अन्य सुविधाहरु पनि राम्रो रहेको भन्दै भारतको बाटो हुँदै बंगलादेशमा रहेका रोहिंग्यालाई नेपाल र्पुयाउने गरेका थिए।
त्यसबापत उनीहरुले १ जना व्यक्तिबाट २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिने गरेका थिए। तस्करको समूहले नेपाल पुर्याएका रोहिंग्याहरु अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कोठा भाडा लिएर बस्दै आएका जनाइएको छ।
४ वर्ष अगाडि म्यान्मारको सेनाले रोहिंग्या मुसलमानविरुद्ध कारबाही चलाएपछि उनीहरु आफ्नो देश छाड्दै बंगलादेशसहित अन्य मुलुक पुगेका थिए। २०७४ सालको असोजदेखि नेपालमा रोहिंग्याहरु प्रवेश गर्न थालेका थिए। हाल काठमाडौंको कपनमा करिब ३८० को हाराहारीमा रोहिंग्याहरू अस्थायी टहरा बनाएर बस्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।