काठमाडौं– अमेरिका जाने प्रलोभनमा पारेर मानव तस्करहरुले पछिल्लो १ महिनामा ३९ जना रोहिङ्ग्या शरणार्थीलाई नेपाल ल्याइ पुर्याएका देखिएको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा म्यान्मारी र बंगलादेशीहरुको 'तस्कर' समूहले पछिल्लो १ महिनाको अवधिमा ३९ जना रोहिङ्ग्या शरणार्थीलाई नेपाल ल्याएको देखिएको हो।
बंगलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीलाई विभिन्न प्रलोभनमा पारेर भारतको बाटो हुँदै नेपाल पुर्याएको देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले केही दिन अगाडि २ जना म्यान्मारी र १ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको थियो।
सीआईबीले म्यान्मार घर भइ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय नूरुल अमिन तथा २७ वर्षीय शफिक आलम र बंगलादेश घर भइ काठमाडौंको डल्लु बस्ने ३० वर्षीय अजमत उल्लालाई पक्राउ गरेको थियो।
सीआईबीका अनुसार उनीहरुले बंगलादेशमा रहेका रोहिङ्ग्यालाई नेपाल पुगेपछि अमेरिका जान पाइने र नेपालमा बस्दा मासिक भत्ता समेत पाइने भनेर प्रलोभनमा पार्ने गरेका थिए।
उनीहरुले नेपालमा बस्दा पुरुषलाई प्रतिमहिना ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ भत्ता पाइने तथा अन्य सुविधाहरु पनि राम्रो रहेको भन्दै भारतको बाटो हुँदै बंगलादेशमा रहेका रोहिङ्ग्यालाई नेपाल पुर्याउने गरेका थिए।
त्यसबापत उनीहरुले १ जना व्यक्तिबाट २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिने गरेका थिए।
थप अनुसन्धानका लागि सीआईबीले तीनै जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाएको थियो। मानव बेचबिखन ब्यूरोले गरेको अनुसन्धानका क्रममा उनीहरुले गत १ महिनाको अवधिमा ३९ जना रोहिङ्ग्यालाई नेपाल ल्याएका देखिएको हो।
तस्करको समूहले नेपाल पुर्याएका रोहिङ्ग्याहरु अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कोठा भाडा लिएर बस्दै आएका जनाइएको छ।
कोरोनाका कारण जारी लकडाउन र निषेधाज्ञाका बेला नेपाल प्रवेश असहज भएकाले त्यो बीचमा रोहिंग्या नेपाल आउने क्रम रोकिएको थियो। तर, निषेधाज्ञा खुकुलो भएसँगै तस्करको गिरोहले विभिन्न प्रलोभन देखाएर रकम लिँदै रोहिंग्यालाई काठमाडौं ल्याएर छाड्न थालेका प्रहरीको अनुसन्धानबाट खुलेको छ।
४ वर्ष अगाडि म्यान्मारको सेनाले रोहिङ्ग्या मुसलमानविरुद्ध कारबाही चलाएपछि उनीहरु आफ्नो देश छाड्दै बंगलादेशसहित अन्य मुलुक पुगेका थिए।
२०७४ सालको असोजदेखि नेपालमा रोहिङ्ग्याहरु प्रवेश गर्न थालेका थिए। हाल काठमाडौंको कपनमा करिब ३८० को हाराहारीमा रोहिङ्ग्याहरु अस्थायी टहरा बनाएर बस्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।