एजेन्सी– क्याटालोनियालाई स्पेनबाट छुट्ट्याएर बेग्लै राज्य बनाउन आइतबार गरिएको जनमत संग्रहका बेला स्पेनी प्रहरीले गरेको दमनविरुद्ध हजारौं क्याटालोनियाबासीले मंगलबार विशाल प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीले क्याटालोनियाको राजधानी बार्सिलोनाका अधिकांश सडक ठप्प पारेकाले सार्वजनिक यातायात प्रभावित भएको थियो।
स्पेनको प्रहरीले गरेको दमनपूर्ण कारबाहीको विरोधमा क्याटालोनियाका व्यापारिक संगठनले हड्तालको घोषणा गरेका थिए। हड्तालका कारण क्याटालोनियाका सबै पसल बन्द भए। विद्यालय, विश्वविद्यालय र स्वास्थ्य सेवा समेत प्रभावित भएको थियो।
बार्सिलोनाको ठूलो खुद्रा बजार ‘मेर्काबार्ना’का अधिकांश खाद्यान्न पसल दिनभर बन्द रहे।
स्पेनको संवैधानिक अदालतले अवैधानिक घोषणा गरेपछि जनमत संग्रहमा मतदान गर्न नदिन स्पेनी प्रहरीले लाठीचार्ज गर्नुका साथै रबरका गोलीसमेत प्रहार गरेको थियो।
प्रहरीले कतिपय ठाउँमा हस्तक्षेप गरी मतपेटिका समेत लुटेको थियो। प्रहरी–क्याटालोनियाबासीबीचको झडपमा ९ सयभन्दा बढी घाइते भएका थिए।
सञ्चार माध्यमले कतिपय स्थानमा प्रहरीले महिलाको कपाल तान्दै गरेका तस्बिर र भिडियो सार्वजनिक गरेका थिए।
त्यहाँका स्वास्थ्य अधिकारीले झडपमा ३३ जना सुरक्षाकर्मी समेत घाइते भएको बताएका थिए।
क्याटालोनियाको स्वतन्त्रताका पक्षमा रहेका स्पेनी राष्ट्रिय फुटबल टोलीका डिफेन्डर गेरार्ड पिकेले अभ्यास गरिरहँदा कतिपय स्पेनी प्रशंसकले उनीविरुद्ध नाराबाजी गरेका थिए। त्यसैले राष्ट्रिय टोलीले सोमबार अभ्यास नै रद्द गरेको थियो।
पिके बार्सिलोना फुटबल क्लबबाट खेल्छन्। बार्सिलोना फुटबल क्लबले क्याटालोनियाको स्वतन्त्रताको पक्षमा रहेको घोषणा गरेको छ।

क्याटालोनियाका ५४ लाख मतदातामध्ये २० लाखभन्दा धेरै जनमत संग्रहमा सहभागी थिए। मतदानपछि त्यहाँका अधिकारीहरूले ९० दशमलव १ प्रतिशत मतदाताले स्वतन्त्रताका पक्षमा मतदान गरेको बताएका थिए।
क्याटालोनियामा सन् २०१५ मा भएको चुनावमा पनि स्वतन्त्रता पक्षधर नेताहरु विजयी भएका थिए। उनीहरूले त्यसैबेला स्वतन्त्रताका लागि जनमत संग्रह गराउने घोषणा गरेका थिए।
क्याटालन संसद्ले गएको ६ सेप्टेम्बरमा मतदान गरी यसका लागि कानुन निर्माण गरेको थियो। मतपत्रमा एउटै मात्र प्रश्न थियो– के तपाईं क्याटालोनियालाई एउटा स्वतन्त्र गणतान्त्रिक राष्ट्र बनाउन चाहनुहुन्छ?
क्याटालोनियाका राष्ट्रपति काल्र्स पुजिमोन्टले स्पेनको कुनै पनि अर्को अदालत वा राजनीतिक निकायले क्याटालोनिया सरकारको शक्ति खोस्न नसक्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।