काठमाडौं- स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ।
फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो। बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गर्ने तयारी रहेको बताइएको छ।
फूल मालाको अभाव हुन नदिन भारतबाट आयात गर्न पुष्प व्यवसायी लागिपरेका छन्। नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्याङ्क छ। उत्पादन क्षमता गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने व्यवसायी बताउँछन्। गत वर्षको तिहारमा भारतबाट दुई लाख सयपत्री माला ल्याइएको थियो।
फूल उत्पादनमा कमी आए पनि यस वर्ष माग भने बढेको छ। कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा झैं लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोना भाइरस सङ्क्रमण जोखिम कारण व्यवसायीले लगानी गर्न नसकेकाले फूल उत्पादनमा त्यसको असर देखिएको बताए।
'यस वर्ष बजार माग बढेको छ', उनले भने, 'माग बढी र उत्पादन कम भएपछि यस वर्ष तिहारको समयमा भारतबाट सयपत्री फूलको माला विगत वर्षको तुलनामा धेरै ल्याउन लागिएको हो।'
यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ। तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवम् गोदावरी फूलको माला रहेका छन्। माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा वृद्धि हुने बताइएको छ।
एक मिटर सयपत्री फूलको मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्नेछ। यस वर्ष विगत दुई वर्षको तुलनामा १५ प्रतिशत फूलको माग बढी छ। भारतबाट ल्याइने फूल तिहार सुरु हुन तीन दिन बाँकी रहँदा नेपाल आइपुग्नेछ।
लामो समयदेखि कोरोना भाइरस सङ्क्रमणका कारण दैनिक एक करोडको नोक्सान व्यहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब ७० लाखको कारोबार गर्न थालेको छ। कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने मौसम हो।
अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना सङ्क्रमण पनि बिस्तारै न्यून हुँदै गइरहेकाले यस व्यवसायले गति समाएको छ।
फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ। नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन्। -शर्मिला पाठक/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।