जुम्ला- दशैंको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जनका लागि घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षाका कारण त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन्। स्थल मार्ग ठाउँ ठाउँमा भत्केको र मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन्।
कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ उडान गरेकाले अहिले त्यहाँको उडान ठप्प छ। लगातारको वर्षाले स्थलमार्ग पूर्णरूपमा बन्द छ भने जहाज नचल्दा दशैंको बिदा मनाउन राराताल पुगेका पर्यटक सातादेखि अलपत्र परेका हुन्।
नेपालगञ्जका सृजन खत्री काठमाडौंबाट आएका आठ साथीसँगै मोटरसाइकलमा रारा पुगेका थिए। बाटोमा मोटरसाइकल बिग्रिए। उनका साथीहरू जहाजमार्फत नेपालगञ्ज आउनका लागि तीन दिनदेखि विमानस्थलमा विमानको प्रतीक्षामा छन्।
जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि फेरि मौसममा खराबी आउने पूर्वानुमान गरेको छ। मौसममा खराबी आउनेबित्तिकै ताल्चामा विमान अवतरण हुँदैन। एक सयभन्दा बढी यात्रु विमानस्थलमा उद्धारको प्रतीक्षामा छन्।
विमानस्थलमा यात्रुको चाप थेगिनसक्नुको छ। सयभन्दा बढी यात्रु विमानस्थलमा विमानको पर्खाइमा छन्। हवाईमार्गमार्फत राराताल आउने अधिकांश पर्यटक एक रात बिताएर फर्किने गरी प्याकेज बनाएका हुन्छन्। एक सातादेखि उडान भर्न नपाउँदा समस्या भएको विमानस्थल प्रमुख विशाल बरुणले बताए।
मुगुमा नेपाल वायुसेवा निगम, समिट एयर, तारा एयर र सीता एयरले उडान भर्दै आएका छन्। बाढीपहिरोका कारण विभिन्न ठाउँको स्थलमार्ग अवरुद्ध हुँदा कर्णालीमा सञ्चालन हुने हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्व र सुदूरपश्चिमतर्फ लगेका हुन्। सीताको जहाजमा खराबी आएर नेपालगञ्जमा थन्क्यिाइएको छ। समिटको जहाज सुदूरपश्चिम प्रदेशमै छ। ताराको जहाजले दैनिक एक–दुई उडान मात्रै गर्दै आएको विमानस्थल कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी रोम महतले अलपत्र यात्रुको उद्धारका लागि सरोकार निकाय र विमान सञ्चालक कम्पनीलाई पत्राचार गरिएको बताए। उनले गृह मन्त्रालय, कर्णाली प्रदेश सरकार र विमान सञ्चालक कम्पनीहरुलाई नियमित र थप उडान गर्नका लागि जानकारी गराउनाका साथै पत्राचार पनि गरिएको बताए। -विजय रावत/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।