काठमाडौं- नेकपा (एमाले)का नेता सत्यनारायण मण्डलले १० बुँदे र जेठ २ को औचित्य सकिएको बताएका छन्। १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएका पार्टी उपाध्यक्ष भीम रावलले कार्यदलबाट राजीनामा घोषणा गरेको सन्दर्भमा उनले यस्तो बताएका हुन्।
'पार्टीलाई जेठ २ मा फर्काउने र १० बुँदे माधव नेपाललाई पार्टीमा फर्काउने गरी सहमति गरिएको हो। पछि माधव नेपाल आएनन्। अब त्यो २ जेठ र १० बुँदेको औचित्य सकियो,' पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेता मण्डलले भने।
उपाध्यक्ष रावलतर्फ संकेत गर्दै उनले पार्टीमै बस्ने भए धेरै कचकच गर्नुको अर्थ नभएको बताए। 'अब धेरै फुरफुर गरेर हुँदैन। बस्ने भए यही पार्टीमा बसे हुन्छ, नभए अब धेरै कचकच गर्नुको अर्थ छैन,' नेता मण्डलले भने, 'पार्टीमा चाहिने नचाहिने माग राख्ने, अनेक गरेर बस्ने काम भयो। आफ्नो योग्यता क्षमता छैन अरु सबै पार्टीमा मिलिसकेको छ। एकाध ठाउँमा मिलाउन बाँकी छ, अब मिल्दै जान्छ। पार्टी अघि बढिसक्यो केपी ओलीलाई सताउने काम नगरे हुन्छ।'
रावलले आज पार्टीको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने कुरा उठाएका थिए। तर, अध्यक्ष ओलीले १० बुँदेको कार्यान्वयनको आवश्यकता नभएको बताएपछि रावलले राजीनामा दिने घोषणा गरेका हुन्।
अध्यक्ष ओलीले एकलौटी निर्णय गरेको भन्दै उनले स्थायी कमिटी बैठकमै कार्यदलको संयोजक र सदस्यसमेत नरहने गरी राजीनामा दिने घोषणा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।