काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि गठन गरिएको कार्यदलबाट राजीनामा दिएका छन्।
शुक्रबारको स्थायी कमिटी बैठकमै राजीनामा घोषणा गरेका रावलले बैठकपछि पत्रकारहरूलाई आफूले राजीनामा दिएको पुष्टि गरे।
'यो कार्यदल जसरी बनेको थियो, कार्यदलले पार्टीको एकता कायम राख्नका लागि र यो पार्टीलाई बलियो बनाएर अगाडि जाने उद्देश्यका साथ यसले धेरै मिहेनत गरेको थियो। त्यसको विपरीत स्वयं अध्यक्षबाट कार्यदलको औचित्यमाथि प्रश्न उठ्ने गरी कुराकानी गर्नुभएको हुनाले मैले कार्यदलको संयोजक र त्यसको सदस्यबाट समेत राजीनामा दिने घोषणा गरेको छु। मैले बैठकमा मेरो लिखित राजीनामा भोलि पठाउँछु भनेको छु,' बैठकबाट बाहिरिने क्रममा उपाध्यक्ष रावलले भने।
उनले १० बुँदे कार्यान्वयन हुनुपर्छ भनेर बैठकमा आफूले कुरा राखेको बताए। 'कार्यदलमा भएका अहिलेसम्मका छलफलहरुका बारेमा मैले एउटा प्रतिवेदन प्रस्ताव पनि प्रस्तुत गरेको थिएँ। समस्याको समाधान कसरी हुन्छ भन्ने छलफल जो कार्यदलमा भएको थियो। सबैको सहमतिबाट आएका कुराहरु मैले राखेँ। ती कुराहरुले बैठकमा सकारात्मक प्रभाव पनि पार्यो। तर अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीजीले ती सम्पूर्ण कुराहरुलाई खण्डन गरे,' उनले भने।
रावलले १० बुँदेको कार्यान्वयन गर्ने भन्ने विषयलाई स्थायी कमिटीका सबै सदस्यहरुको जोड दिएको बताए। त्यसविपरीत अध्यक्ष ओलीले कुरा गरेपछि आफूले पाँच पृष्ठको फरक मत बैठकमा राखेको उनले बताए। 'उहाँले १० बुँदे कार्यान्वयनभन्दा फरक किसिमले कुरा गर्नुभयो र उहाँले त्यसको औचित्य नभएको जस्तो कुराहरु पनि गर्नुभयो। त्यसको साथ साथै जुन १० बुँदे सहमति र अपानि १२ बाट हामी स्थायी कमिटीका सदस्यहरुले पाएको जिम्मेवारी थियो त्यो जिम्मेवारी पनि उहाँले पछि पार्टीमा विवाद भएपछि एकलौटी रुपमा निर्णय गर्नुभएको थियो, त्यो अनुसार मात्र हुने भन्ने कुरा भएपछि मैले पाँच पृष्ठ लामो फरक मत दर्ता गरेको छु,' रावलले भने।
एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि रावल संयोजक रहेको कार्यदल बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।