काठमाडौं- १० बुँदे प्रस्तावको कार्यान्वयनको विषयलाई लिएर एमालेभित्र थप किचलो निम्तिएको छ। १० बुँदे कार्यान्वयनका लागि गठन गरिएको कार्यदलको संयोजक र सदस्यबाट भीम रावलले राजीनामा दिएका छन्। शुक्रबारको स्थायी कमिटी बैठकमा उनले राजीनामा घोषणा गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको एकतारे नबजाउन निर्देशन दिएलगत्तै पछिल्लो विवाद सुरु भएको थियो। रावल तथा घनश्याम भुसालले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेका थिए। बिहीबारदेखि जारी स्थायी कमिटीको बैठकमा पनि यो विषय उठेको थियो।
शुक्रबारको बैठकमा पनि अध्यक्ष ओलीले १० बुँदेको औचित्य नरहेको अभिव्यक्ति दिएका थिए। ‘१० बुँदेको कार्यान्वयन गर्ने विषयमा हामी सबै जनाको जोड थियो। स्थायी कमिटीका सबै सदस्यहरुको पनि जोड थियो। त्यसको विपरीत अध्यक्ष ओलीले १० बुँदेको कार्यान्वयन हुनेभन्दा फरक कुरा गर्नुभयो। उहाँले त्यसको औचित्य नरहेको जस्तो कुरा गर्नुभयो,’ बैठकस्थलमा पत्रकारहरुसँग कुरा गर्दै रावलले भने, ‘मैले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको छु।'
एमाले विवाद भएका बेला ओलीपक्षले जुन निर्णयहरु गरेको थियो र जसलाई जिम्मेवारी दिएको थियो, त्यही कायम रहने स्पष्ट पारेका थिए।
साथसाथै, प्रभु साह निकटका दुई जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको विषयमा पनि रावलको असन्तुष्टि छ। ‘कुन प्रभु साहजी, कसको समस्या समाधान गर्नका लागि गर्ने भन्ने कुरा ल्याउनुभएको हुनाले त्यसप्रति पनि मेरो विमति छ,’ उनले भने, ‘पार्टीको अपानि १२ लाई कार्यान्वयन गर्ने कुरामा तत्परता नदेखाउने तर कुन नेतासँग कहाँ व्यक्तिगत कुरा गरेर केन्द्रीय सदस्य राख्ने कुरा भयो। पद्धति, प्रक्रिया र निर्णयसँग मिलेन भन्ने कुरा लागेर मैले त्यसप्रति पनि मेरो फरक मत दर्ज गरेको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।