काठमाडौं- भारतीय निर्देशक सुरज वर्जत्यको निर्देशनमा बनिरहेको फिल्म ‘उचाई’को निर्माण तथा कलाकारहरुको टोली नेपालको हिमाली भेग मनाङ पुगेको छ। फिल्मका अभिनेता अनुपम खेरले आफ्नो सामाजिक सञ्जालमार्फत् मनाङ पुगेको जानकारी दिएका हुन्।
फिल्मको छायाङ्कनका लागि मनाङ पुगेको टोलीले फिल्मकी मुख्य अभिनेत्री परिणिती चोपडाको जन्मदिन पनि मनाङमै मनाएको छ। परिणितीले पनि आफ्नो जन्मदिन हिमालय क्षेत्रमा मनाउन पाउँदा खुसी भएको बताएकी छन्। भारतीय सञ्चारमाध्यम इण्डिया टुडेसँग कुरा गर्दै उनले भनेकी छन्, ‘मेरो हृदय भरिएको छ। म सुरज वर्जत्यको फिल्मको छायाङ्कनका लागि हिउँले भरिएका हिमालहरुको बीचमा छु।’
सामाजिक सञ्जालमार्फत् अनुपम खेरले पनि अभिनेत्री चोपडालाई जन्मदिनको शुभकामना दिँदै भिडियो पोस्ट गरेका छन्। मनाङ पुगेका उनीहरुलाई स्थानीयले सांस्कृतिक नृत्यसहित स्वागत गरेको भिडियो खेरले आफ्नो इन्स्टाग्राममा राखेका छन्। उक्त भिडियोमा खेर र चोपडासँगै फिल्मका निर्देशक वर्जत्य तथा अन्य कलाकारहरु नाचेको देख्न सकिन्छ।
२०२२ को मध्यतिर प्रदर्शनमा जाने गरी छायाङ्कन भइरहेको वर्जत्यको उचाईमा अनुपम, परिणिती, मोमन इरानीसहित बलिउडका अमिताभ बच्चनको पनि अभिनय छ। मित्रताको कथामा आधारित फिल्मका केही दृश्यहरु नेपालको हिमाली भेगमा पनि छायाङ्कन गरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।