काठमाडौं– सन् १९८४ मा मुम्बईमा अनुपम खेर आफ्नो फिल्म ‘जीवन सन्ध्या’ छायांकनमा थिए। फिल्मको सेटमा रहँदा १९ वर्षकी एक विदेशी युवती आएर खेरलाई फिल्ममा भूमिका मागेकी थिइन्। त्यत्ति बेला खेरले आफ्ना आगामी फिल्ममा उनलाई सुहाउने भूमिका दिने भनेका थिए।
उक्त घटनापछि खेरको ती युवतीसँग भेट भएको थिएन्। उक्त घटना भएको ३७ वर्षपछि खेर र ती युवतीबीच काठमाडौंमा भेट भएको छ। सुरज बर्जत्यको निर्देशनमा बनिरहेको फिल्म ‘उचाइँ’को छायांकनका लागि नेपाल आएका खेर र ३७ वर्षअघि भेट भएकी ती युवतीको भेट काठमाडौंमा भएको हो।
३७ वर्षअघि आफूलाई सुहाउने भूमिका माग्दै फिल्मको छायांकन भइरहेको सेटमा पुगेकी ती युवती अरु कोही नभएर हाल नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क हुन्।
खेर र भोल्कले आफ्नो ट्विटरमार्फत एकअर्कासँग भएको भेट र ३७ वर्षअघिको प्रसंग सम्झिएका छन्। खेरले लेखेका छन्, ‘१९८४ मा मेरो सुरुवाती फिल्म ‘जीवन सन्ध्या’को सेटमा आएर १९ वर्षकी एक विदेशी केटीले फिल्ममा भूमिका मागेकी थिइन्। आज ३७ वर्षपछि उनीसँग भेट भएको छ। उनी हाल नेपालका लागि अष्ट्रेलियाकी राजदूत र दुई पुस्तककी लेखक हुन्।’
खेरले वर्षौपछि भोल्कसँग भेट हुँदा आफू प्रफुल्लित रहेको बताएका छन्। भोल्कले पनि खेरसँगको भेटले खुसी भएको ट्विटरमार्फत जानकारी दिएकी छिन्। सँगै उनले नेपालमा छायांकन भइरहेको फिल्म ‘उचाइँ’ हेर्नसमेत उत्सुक रहेको उल्लेख गरेकी छिन्।
‘मुम्बईको फिल्म सेटमा भेट भएको करिब चार दशकपछि प्रतिभाशाली अनुपम खेरलाई काठमाडौंमा भेट्नु एकदमै खुसीको क्षण भयो,’ भोल्कले लेखेकी छिन्, ‘उचाइँ हेर्न उत्सुक छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।