काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न बिहीबार सुदूरपश्चिम प्रदेश जाने भएका छन्।
प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पुर्याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिने उनको निजी सचिवालयले जनाएको छ। देउवा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहप्रदेश जान लागेका हुन्।
प्रधानमन्त्री देउवासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि निरीक्षणमा जाने बताइएको छ। टोलीमा कांग्रेस नेताहरू रमेश लेखक, एनपी साउद र वीरबहादुर बलायरलगायत सहभागी हुने उनको सचिवालयले जनाएको छ।
सम्भव भएसम्म प्रधानमन्त्री देउवा बिहीबारै कर्णाली प्रदेशमा पनि पुग्ने सचिवालयले जनाएको छ।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले यसअघि नै उद्धार, राहत र पुनस्र्थापनामा सम्बद्ध निकायलाई परिचालित हुन निर्देशन दिइसकेका छन्। प्रधानमन्त्री देउवा भोलि काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।