काठमाडौं- सुदूरपश्चिममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १८ पुगेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्याङ्कअनुसार डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा चार र बझाङमा एक जनाको मृत्यु भएको छ।
त्यस्तै ११ जना घाइते भएका छन्। डोटीमा छ, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङमा एक जना घाइते भएका छन्। पहिरोमा परी बझाङमा २३, कैलालीमा एक र डोटीमा एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
कैलालीमा तीनजना सम्पर्कविहीन भएकाको भने सकुशल उद्धार गरिएको छ। डुबान र पहिरोका कारण डुबानमा परेका डडेलधुराको प्रहरी चौकी बडालका सात जना प्रहरी, बझाङको अस्थायी प्रहरी पोस्ट बागथलाका सात जना प्रहरी, कञ्चनपुरको प्रहरी चौकी झोलुङ्गेका प्रहरीहरुलाई सुरक्षित स्थानमा राखिएको छ।
प्रहरीका अनुसार सुदूरपश्चिमभरिमा १६ वटा घर पहिरोले भत्किएका छन्। बझाङमा ११, डोटीमा तीन र डडेलधुरामा दुई वटा घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ।
यातायात अवरुद्ध भएका डडेलधुरा, डोटी, अछाम, बैतडी, बझाङ, दार्चुला लगायतका क्षेत्रमा अवरुद्ध सडक सञ्चालन गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।