बाढीमा परेकाहरुको उद्धार गर्दै नेपाली सेनाको हेलिकप्टर।
काठमाडौं- सरकारले तीन दिनदेखिको अविरल वर्षातपछि आएको बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्धारमा निजी हेलिकप्टर पनि प्रयोग गर्ने भएको छ। अहिलेसम्म नेपाली सेनाको हेलिकप्टरले मात्रै उद्धार गरिरहेकोमा अपुग हुने देखिएपछि निजी कम्पनीका हेलिकप्टर पनि प्रयोग गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।
मुलुकभर नै निरन्तरको वर्षातपछि आएको बाढी र पहिरो तथा डुबानमा परेकाहरूको खोज तथा उद्धार कार्यका लागि निजी हेलिकप्टर पनि ‘स्टायण्डबाई’ राख्न लागिएको जानकारी दिइएको छ।
गृह मन्त्रालयमा बिहान गृहमन्त्री बालकृष्ण खाणको पहलमा गृहसचिव टेकनारायण पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, पर्यटन मन्त्रालयका वायु सेवा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने, निजी वायु सेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक कमलेशकुमार वर्मा र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका उपसचिव दिलकुमार तामाङसहितको बैठक बसेको थियो।
बैठकमा वर्षात निरन्तर भइरहेको र सेनाको हेलिकप्टरले मात्रै विपद्मा परेकाहरूको खोज तथा उद्धारमा कठिनाइ भएकोले निजी हेलिकप्टर प्रयोग गर्ने विषयमा कुरा भएको थियो। निजी बायु सेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक वर्माले विपद्मा परेकाहरूको खोज तथा उद्धार गर्ने दायित्व आफूहरूको पनि भएको भन्दै सरकारले खोजेमा आफूहरू सेवा दिन तयार रहेको बताएका थिए। उनले बैठकमा निजी वायु सेवा कम्पनीसँग ३५ हेलिकप्टर भएको जानकारी दिएका थिए।
गृह मन्त्रालयमा निजी वायु सेवा सञ्चालकहरुसँग छलफल गर्दै गृहमन्त्री खाण।
त्यसपछि बैठकमा ती हेलिकप्टर कहाँ छन् भन्ने लोकेसन एसोसिएसनले गृह मन्त्रालयलाई उपलब्ध गराउने र गृहले आवश्यकता अनुसार खटाउने सहमति बनेको छ। त्यसको समन्वय गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले गर्ने गृहले जनाएको छ। निजी हेलिकप्टर प्रयोग भएबापतको भुक्तानी गृह मन्त्रालयले दिनेछ।
बैठकमा गृहमन्त्री खाणले राष्ट्रिय विपद्को सामना गर्दै नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले विपद्मा परेकाहरूको उद्धार गर्न ‘कम्प्रमाइज’ सेवा उपलब्ध गराउन निजी वायु सेवा कम्पनीहरूलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।