काठमाडौं– केही दिनदेखि परिरहेको पानी आज पनि निरन्तर रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
बिहानैदेखि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागहरूमामा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रदेशका केही स्थानमा वर्षासमेत भइरहेको महाशाखाले बताएको छ।
हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका धेरै स्थानका साथै बाकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
आज राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। राति देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
देशका केही भागमा भारी वर्षासँगै पहिरो तथा बाढीको सम्भावना रहेकाले नदीतटीय क्षेत्रमा सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।