काठमाडौं– कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चारलेनको पक्की पुलको पुहँच मार्ग नदीले कटान गरेर बगाएको छ।भीमदत्त नगरपालिका १२ ऐरी स्थित बैजनाथ मन्दिर नजिकै पुलको पहुँच मार्गको कालोपत्रे सडकको दुवैतर्फको भाग नदीले कटान गरेर बगाएको हो ।
महाकाली नदीमा निर्माण भइरहेको चारलेनको पक्की पुलका लागि केही महिना अघि मात्रै पहुँचमार्ग निर्माण भएको थियो।आइतबारदेखि निरन्तर परिरहेको अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीले दुवैतर्फको सडक कटान गरेर कालोपत्रे सडकमार्ग बगाएको भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष लालबहादुर शाहीले जानकारी दिए।
‘नदीले सडक पूर्णरुपमा कटान गरेर दुवैतर्फ बगाइसकेको छ। कटान जारी रह्यो र पानीको वहाव फेरि बढ्यो भने नदी गाउँ पस्ने खतरा उच्च छ,’ उनले भने, ‘हामीले तटीय क्षेत्रमा रहेका वस्तीका मानिसहरुलाई सुरक्षित स्थानमा सारिसकेका छौं।’
महाकाली नदी गाउँ पुग्न ५/६ मिटर ग्राभेल सडक मात्रै अब बाँकी रहेको उनले जानकारी दिए। ‘हिजोको भन्दा आज अलि जलस्तर केही घटेको छ,’ उनले भने, ‘तर, कटान भने जारी नै राखेको छ।’
नदीले पहुँच मार्ग कटान गर्न थालेपछि ऐरी, ओदाली, बडैपुर, सोना टोल, विजया टोल, पिपरिया लगायत क्षेत्रमा महाकाली पस्ने खतरा बढेको हो। तटीय क्षेत्रमा झण्डै २ हजार परिवारको बसोबास रहेको छ।
उक्त पहुँच मार्ग पछिल्लो समय भाइरल रोडका रुपमा परिचित बनेको थियो। टिकटक बनाउनेदेखि लिएर स्थानीय र बाहिरबाट आएका मानिसहरु उक्त सडक हेर्न र फोटो खिच्ने क्रम बढ्दो थियो। वर्षौदेखि महाकाली नदीमा आउने बाढी र कटानले पीडित भएका स्थानीय महाकाली नदीम चारलेनको पुल निर्माणसँगै त्यहाँ पक्की सडक र संरचना बन्ने क्रम सुरु भएपछि महाकाली नदीमा आउने बाढीबाट बच्ने आशमा थिए। तर, अहिले आएको बाढीले एकाएक सम्पूर्ण निर्माण भएका संरचना बगाएपछि पुनः चिन्तित बनेका छन् ।
महाकाली नदीमा अहिलेसम्म कै सबैभन्दा ठूलो बाढी आएको हो। हिजो दिउँसोसम्म ५ लाख ४७ हजार क्यूसेक जलस्तर मापन गरिएको थियो । आज बिहानसम्म भने नदीमा जलस्तर घटेर ३ लाख ६० हजार क्यूसेक पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।