काठमाडौं- आइतबार बेलुकादेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिमका अधिकांश जिल्लाका वस्तीहरु पहिरो र डुबानको चपेटमा परेका छन्।
अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका वस्ती डुबानमा परेका छन्। महाकाली नदीको बाढी गाउँ पस्दा भीमदत्त नगरपालिका र दोधारा चाँदनीमा गरी १५० भन्दा बढी घर डुबानमा परेको प्रहरी जनाएको छ।
भीमदत्त नगरपालिका वडा नम्बर ९, ११, १२ र १३ का खल्ला भुजेला ऐरी, ओदाली, बडैपुर, पिपरैयाका करिब १०० घर र दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगर र वडा नम्बर १० को कुतियाकबर, शान्ती टोल तथा निसानी टोलमा गरी ६० घर डुबानमा परेको छ। महाकाली नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सिद्धराज न्यौपानेले जानकारी दिए। ब्रह्मदेव बजारदेखि झोलुङ्गे पुलसम्म नदी किनारका बस्तीमा पानी पसेको र हालसम्म मानविय क्षति नभएको उनले बताए।
यस्तै कर्णाली नदीमा आएको बाढीले खतराको सतह नाघेको छ। चिसापानी बाढी मापन केन्द्रमा मंगलबार गरिएको मापनअनुसार नदीको सतह ११.३ मिटर नाघेको इलाका प्रहरी कार्यालय चिसापानी कैलालीले बताएको छ। कर्णालीमा १० मिटर पानीको सतहलाई सतर्कता र १०.८० मिटरलाई खतराको तह मानिन्छ। लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकोले खतरा अझै बढ्ने प्रहरीले बताएको छ।
पानी अझै परिरहेकोले उद्धार र राहतमा कठिनाइ भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।