काठमाडौं- नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाले चितवनको भरतपुर महानगरपालिकाका भीमबहादुर विश्वकर्माको हत्यामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।
मोर्चाले मंगलबार विज्ञप्ति जारी गर्दै भरतपुर महानगरपालिका-४, लकुस्थित दुर्गा मन्दिरमा 'दलितहरूले पनि मन्दिर पूजा गर्न पाउनुपर्ने' भन्ने विषयमा विवाद हुँदा सोही स्थानका ५८ वर्षीय भीमबहादुरको स्थानीय गैरदलित व्यक्तिहरूले गरेको कुटपिटबाट भएको हत्याप्रति ध्यानाकर्षण भएको जनाएको हो।




'घटना घटेलगत्तै हाम्रो संगठन नेपाल दलित मुक्ति मोर्चाका संरक्षक रणेन्द्र बराली, मोर्चाका चितवन जिल्ला इन्चार्ज भीमबहादुर विश्वकर्मा, जिल्ला संयोजक देवीराम विश्वकर्मा तथा मोर्चाकै नेताहरू पारसबाबु विश्वकर्मा, रविलाल विश्वकर्मा, रुपा सुनार, लक्ष्मी नेपाली गैरेसहितको नेतृत्वको टोलीले घटनास्थलको अध्ययन अवलोकन र प्रत्यक्षदर्शीहरूसँग कुराकानी गरेको थियो,' विज्ञप्तिमा उल्लेख छ, 'अध्ययन-अवलोकनको क्रममा थाहा भयो कि मृतक भीमबहादुर विश्वकर्माकी श्रीमती विन्दु विश्वकर्माले केही समय अगाडि सो मन्दिरमा पूजा गर्न जाँदा सो मन्दिरका पूजारीले मन्दिर प्रवेशमा निषेध गरी छुवाछूत विभेद गरेका थिए। सोही घटनालाई लिएर भीमबहादुर विश्वकर्माले यही असोज २८ गते मन्दिर परिसरमा पुगेर 'दलितहरूले यो मन्दिरमा पूजा गर्न पाउनैपर्छ' भनेपछि विवाद उत्पन्न भएको र त्यसैक्रममा स्थानीय सीताराम बस्नेत र दीलिप श्रेष्ठले फलामको पीपीसी पाइपसमेत प्रयोग गरी कुटपिट गर्दा टाउकोमा गम्भीर चोट लागि उहाँको मृत्यु भएको थियो।'
भीमबहादुर विश्वकर्माको हत्या देशव्यापी दलित समुदायमाथि शृङ्खलाबद्ध रुपमा भइरहेको छुवाछूत-विभेदकारी दमन तथा हत्याको प्रतिनिधिमुलक घटना भएको मोर्चाको भनाइ छ। 'छुवाछूत विभेदकै कारण भएको यस जघन्य अपराधको कडा शब्दमा निन्दा र भर्त्सना गर्दै घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय र पीडितलाई क्षतिपूर्तिसहित न्याय दिलाउनको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं,' विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।