काठमाडौं- सुदूरपश्चिम सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड जम्मा गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बोलाइएको आपत्तकालिन बैठकले विपद्बाट प्रभावित परिवारको सहयोग, जनशक्ति व्यवस्थापन, राहत, खोज तथा उद्धारका लागि सो कोषमा रकम विनियोजन गरेको हो।
शनिबार रातिदेखि परेको वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति पुगेको छ। पहिरोमा परि प्रदेशको डोटीमा दुई जना र डडेल्धुरामा एक जनाको मृत्यु भएको छ।
प्रदेश सरकारले विपद्का घटनालाई मध्यनजर गर्दै प्रदेशका नौ वटै जिल्लाका लागि २५/२५ लाख विनियोजन गरेको छ।
‘त्यो रकम अहिले तत्कालको लागि हो। क्षतिको यकिन विवरण आए हामी थप राहत उपलब्ध गराउँने छौं’ आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सरकारकी प्रवक्ता पूर्णा जोशीले भनिन्, ‘अहिले प्रदेशमा संकट आएको छ। त्यसको व्यवस्थापन हाम्रो मुख्य योजना हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।