काठमाडौं– बलिउड अभिनेता अक्षय कुमार मुख्य भूमिकामा रहेको फिल्म सूर्यवंशी नोभेम्बर ५ मा प्रदर्शन हुने भएको छ। फिल्म निर्माण पक्षका अनुसार नोभेम्बरमा भारतभरका ३२ सय सिनेमा हलमा फिल्मलाई प्रदर्शन गरिनेछ।
रोहित शेट्टीले निर्देशन गरेको फिल्ममा अक्षय प्रहरीको भूमिकामा देखिएका छन्। शेट्टीको ‘कप युनिभर्स’को चौथौं फिल्मको रुपमा सूर्यवंशीलाई निर्माण गरिएको छ। यसअघि ‘सिंघम’, ‘सिंघम रिटन्स’ र ‘सिम्भा’ यही शृङ्खलामा निर्माण भइसकेका फिल्म हुन्।
सूर्यवंशीमा अक्षय आतंकवादविरुद्धको समूहको प्रमुख वीर सूर्यवंशीको भूमिकामा देखिएका छन्। अक्षयलाई केट्रिना कैफले साथ दिएकी छिन्। फिल्ममा ज्याकी स्राफ, गुल्सन ग्रोभर, अभिमन्यु सिंह, निहारिका रैजादालगायतको अभिनय रहेको छ।
रोहितको ‘कप युनिभर्स’को तेस्रो फिल्म ‘सिम्भा’को अन्त्यमा नै सूर्यवंशीको भूमिकाको घोषणा गरिएको थियो। सूर्यवंशीमा अक्षयसँगै यो शृखलाका अघिल्ला फिल्मका पात्रहरुसँगको सहकार्यमा मुम्बईमा हुने आक्रमणलाई रोक्न गरिएको संघर्षलाई देखाइएको छ।
सुरुवातमा २४ मार्चमा प्रदर्शनको मिति तोकिएको फिल्म कोरोना महामारीका कारण लकडाउन हुँदा पटक पटक पछि सरेको थियो। अप्रिलमा पनि फिल्मको प्रदर्शन मिति तोकिए पनि भारतमा बढ्दो कोरोना संक्रमणका कारण फिल्म प्रदर्शन हुन सकेन। हाल भने फिल्मलाई तिहार लक्षित गरेर ५ नोमेम्बरमा प्रदर्शन गर्ने घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।