काठमाडौं- अमेरिकाका पूर्वविदेशमन्त्री कोलिन पावेलको सोमबार निधन भएको छ। पावेलको कोरोना संक्रमणका कारण निधन भएको उनको परिवारले जनाएको छ।
८४ वर्षका पावेलले कोरोनाविरुद्ध खोपको पूर्णमात्रा लगाएको भए पनि संक्रमित भएका थिए। परिवारले उनको निधन कोरोनासम्बन्धी जटिलताका कारण भएको उल्लेख गरेको छ। नेपालको भ्रमण गर्ने उनी एक मात्र अमेरिकी विदेशमन्त्री हुन्। उनी नेपाल भ्रमणमा आउँदा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो।
उनी सन् २००२ को जनवरी १८ मा नेपाल आएका थिए। त्यसबेला उनले तत्कालीन राजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।
रिपब्लिकन दलसँग आबद्ध पावेल विदेशमन्त्री हुनुअघि अमेरिकाको सेनापतिसमेत रहेका थिए। उनी अमेरिकाको सेनापति र विदेशमन्त्री हुने पहिलो अश्वेत व्यक्ति हुन्।
यसैबीच प्रधानमन्त्री देउवाले पावेलको निधनप्रति दु:ख व्यक्त गरेका छन्। उनले नेपाल भ्रमणका क्रममा पावेलसँग भएको कुराकानी स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।