फाइल तस्बिर
काठमाडौं- बाँकेमा घरेलु हिंसाबाट मारिएकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुको धर्ना ११ दिनदेखि जारी छ।
पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिइरहेका हुन्। पीडित परिवारले धोबी र कुर्मी दुवैको हत्यारालाई कारबाहीको माग गरेका छन्।
न्यायका लागि रुवी खानलगायतको टोली आमरण अनसन बसेको ११ दिन भइसक्दासमेत सरकारले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान नथालेको महिला अधिकार मञ्च बाँकेकी केन्द्रीय सदस्य सकिना तेलीले बताइन्। बाँकेमा दुई महिलाहरु नन्कुन्नी र निर्मलाको परिवारकै मिलेमतोमा हत्या गरिएको भए पनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको थियो।
पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषीउपर कारबाही प्रक्रिया अगाडि नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ। धर्नामा बसेकी महिला अधिकारकर्मी तेलीले आफ्नो माग पूरा नभएसम्म धर्ना जारी रहने बताइन्।
बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुटो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुर्व्यवहार गरेको पीडितहरुले बताएका छन्। उनीहरुले स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदलयात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको बताएका छन्।
सरकारले अनुसन्धान समिति गठन गरेर अपराधीलाई कारबाही गर्ने आश्वासन दिए पनि अहिलेसम्म अभियुक्तहरुलाई समातेर अनुसन्धान गर्न ढिलाइ गरेको उनीहरुको गुनासो छ। पीडित परिवारले अभियुक्तलाई समातेर छानबिन नगरेसम्म धर्ना नछोड्ने बताएका छन्। न्यायका लागि रुवी खान आमरण अनसन बसेको ११ दिन भइसकेको भन्दै महिला अधिकारकर्मीहरुले उनको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।